
दाङ । मोटरसाइकल र कार जुध्दा दाङमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलवार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही–३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताइएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











