Logo
Logo

आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई कारबाही हुन्छः उपसभापति गुरुङ


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३ औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलवार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताए । “सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा. हरिबहादुर दर्लामी समूह हो, सिंगो कांग्रेसको साथ र समर्थन डा. दर्लामी समूहलाई छ”, उनले भने । उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पेशासहितको राजनीतिमा नेपालको इञ्जीनियर क्षेत्र लागेको बताइन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले इञ्जीनियर क्षेत्र मुलुकको सम्मानित क्षेत्र भएको बताउँदै मुलुकको विकासमा इञ्जीनियरको ठूलो भूमिका रहेको बताए । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले लोकतन्त्रलाई संस्थागत गराउन सिडेनको साझा उम्मेदवारलाई विजय गराउन जरुरी रहेको बताए । सिडेनका केन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीले देशभरका ७५३ वटै स्थानीय तहमा सिडेनको संगठन विस्तार गरिएको बताए ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३ औँ कार्यकारिणी समितिको अध्यक्ष पदका उम्मेदवार ई. डा. हरिबहादुर दर्लामीले इञ्जीनियरको सेवा, सुविधा र क्षमताको अभिवृद्धि गर्दै समृद्ध मुलुक निर्माण गर्नका लागि आफूले उम्मेद्वारी दिन लागेको बताए । कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख ई. दीपकबाबु कँडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, नेपाल इञ्जीनियर एशोसिएशनका पूर्वअध्यक्ष भोजराज रेग्मी, सिडेनका पूर्वअध्यक्ष शंकर पण्डितलगायतले सिडेन एकताबद्ध भएर निर्वाचनमा लागे कुनै शक्तिले पराजित गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्