पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा तीन दिने लिम्बू भाषा ‘आनिपान’ भाषा शिक्षकका लागि तालिम सुरु भएको छ ।
फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जनाभन्दा बढी आनिपान भाषा शिक्षकको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण लिम्बू भाषा विकास संस्था (लिल्डा)का अध्यक्ष दिलेन्द्र कुरुम्बाङले गरिरहेका छन् । फालेलुङ गाउँपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउँकार्य समिति फालेलुङको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटनमा प्रमुख अतिथि फालेलुङ गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङसहित उपाध्यक्ष हिमा अधिकारी, फालेलुङ गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोदकुमार चौहान र फालेलुङ ३ का वडा अध्यक्ष विरवित्रम थाम्सुहाङको सहभागिता थियो ।











