Logo
Logo

जेनजी विद्रोहको ‘ग्रेजोन’ कनेक्सन


0
Shares

काठमाडौं । व्यवस्था फेरियो, अवस्था फेरिएन । विगत ७५ वर्षदेखि नेपालको राजनीतिमा यही चक्र चलिरहेको छ र हामी नेपालीका हरेक पुस्ता त्यो चक्रको वरिपरि घुमिरहेका छौँ । जेनजी विद्रोहपछि नेपालको राजनीति नाति पुस्तामा सरेको छ । पक्कै पनि बाबुबाजेभन्दा नाति पुस्ताको सोच, शैली फरक हुन्छ । बाबुबाजेको पुस्ता लोकतन्त्रको स्थापनामै बित्यो ।

नाति पुस्ताको काँधमा बाबुबाजेले रोपेको लोकतन्त्रको वृक्ष हुर्काउनुपर्ने जिम्मेवारी छ । नाति पुस्ताले त्यसका लागि थप आन्दोलन गरिरहन पर्दैन, लोककतन्त्रकै माध्यमबाट नाति पुस्ता आर्थिक समृद्धितर्फ उन्मुख हुन सक्छन् । नाति पुस्ता भनेका देशका युवा शक्तिहरू हुन् । ती युवाहरूलाई देशभित्रै अवसर सृजना गर्न सकियो भने लोकतन्त्रको पनि सार्थकता हुन्छ ।

७५ वर्षमा हामीभन्दा पछाडि परेका कयौँ देशहरू आज लोकतन्त्रको माध्यमबाट समृद्धि हासिल गर्ने देशमा रूपान्तरण भइसकेका छन् । हामी भने अझै पनि समृद्धिको सपनामा सहिद बन्न बाध्य छौँ । जेनजी विद्रोह त्यसको पछिल्लो उदाहरण हो । जेनजी विद्रोहको पछाडि कुन तत्त्वले भूमिका खेलेको थियो भन्ने कुरा ‘ग्रेजोन’ रिपोर्ट साक्षी छ ।

हालै चर्चामा रहेको ‘द ग्रेजोन’ रिपोर्टले युवा पुस्तालाई कसरी परिचालन गर्छ र आफ्नो स्वार्थ अनुकूल शासक जन्माउँछ भन्ने कुरा उल्लेख गरेको छ । जेनजी विद्रोह र त्यसको जगमा स्थापित अनुहारहरू देशप्रति कति इमानदार छन् र तिनीहरू कहाँबाट परिचालित छन् भन्ने कुरा पनि उक्त रिपोर्ट पढेपछि थाहा पाउन सक्छौँ ।

नेपालको राजनीतिमा विगतदेखि नै धेरै नेताहरू विदेशीबाट परिचालित भएको नौलो घटना होइन । नेपालमा हुने हरेक राजनीतिक घटनामा नेपालीको भन्दा बढी विदेशीहरूको स्वार्थ जोडिने हुँदा युवा पुस्ता सजग हुनुपर्ने देखिन्छ । ‘ग्रेजोन’को रिपोर्टले भनेझैँ अहिलेको सरकार विदेशीहरूद्वारा परिचालित हो भने त्यो हाम्रो राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको लागि खतराको कुरा हो ।

आफ्नो स्वार्थपूर्ति गर्न विदेशीहरूले देश टुक्र्याएको उदाहरणहरू पनि छन् । कतिपय देशहरू त विदेशी चलखेलकै कारण गृहयुद्धको चपेटामा पनि परेका छन् । त्यसबाट अहिलेसम्म हामी बचे पनि सानातिना आगोको झिल्का बेलाबखत देखापर्ने गरेको छ । हेर्दा सानो र सामान्य जस्तो लाग्ने यस्ता घटनाहरूको पछाडि विदेशी स्वार्थ जोडिन पुग्यो भने देशमा डढेलो लाग्ने मात्र होइन, त्यसले छिमेकमा समेत आगो सल्किन सक्छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले हाम्रा दुई छिमेकीलाई झस्काइरहेको छ । ‘ग्रेजोन’को रिपोर्टले दुवै छिमेकीलाई रक्षात्मक अवस्थामा पु¥याउनु भनेको हाम्रा लागि दुर्भाग्यको कुरा हो । किनभने, चीन र भारतजस्ता विशाल छिमेकी हाम्रा लागि वरदान हुन् । यी दुई देशको विश्वास जित्न सक्यौं भने मात्र समृद्धि खोज्न सात समुद्र पारि जानै पर्दैन ।

चीन विश्वकै समृद्ध देश मात्र होइन, विश्वको शक्तिशाली देश पनि हो । चीनको समृद्धि र शक्तिले अहिले विश्व हल्लाइरहेको छ । चिनियाँ राष्ट्रपति सीको पछिल्लो अमेरिका भ्रमण त्यसको उदाहरण हो । हामी अमेरिकाबाट धेरै टाढा छौँ, त्यसैले नजिकको छिमेकी चीनबाट हामीले धेरै लाभ लिन सक्छौँ । त्यसैगरी, भारत ठूलो आर्थिक समृद्धितिर लम्किएको देश हो । यी देश हाम्रा लागि विशाल बजार हुन् । त्यसलाई हामीले बुझ्न सक्नुपर्छ ।

अन्त्यमा, देशको वर्तमान भूराजनीतिक परिस्थितिमा सिंहदरबारको बन्द कोठामा बसेर मात्र देश समृद्धितर्फ अगाडि बढ्न सक्दैन । त्यसका लागि सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्छ । तर, अहिलेको सरकारको गतिविधि हेर्दा नेपालका पुराना दलहरूसँग नयाँ दलले सहकार्य गर्दै अगाडि बढ्ने वातावरण बन्न सकेको छैन । एक्लै हिँडेर कहीँ पुगिन्न । देशलाई अगाडि बढाउन सबैले होस्टेमा हैँसे गर्नुपर्ने हुन्छ । तर, फेरि पनि भूराजनीतिक वातावरणले राजनीतिक दलहरूबिच सहकार्य होइन, शत्रूतापूर्ण सम्बन्ध विकास भएको छ । भाइ फुटे गवार लुटे भनेको यही हो ।

नेपालमा विगत ७५ वर्षमा पुर्खाहरूको सङ्घर्ष र बलिदानी मा जे जति राजनीतिक परिवर्तनहरू हासिल भएका छन्, त्यसको पछाडि पनि भूराजनीति जोडिएको छ । तर पटकपटकको राजनीतिक परिवर्तनबाट हामीले समृद्धि हासिल गर्न नसकेकै कारण युवापुस्ता जेनजी विद्रोहमार्फत राजनीतिमा उदाएको हो । त्यसलाई पनि विदेशीहरूले नै मलजल गरेको रिपोर्ट सार्वजनिक हुनु हाम्रा लागि लज्जाको विषय हो । त्यसमा पनि प्रधानमन्त्री बालेन साहको नाम जोडिनु हाम्रा लागि झनै दुर्भाग्य हो ।

‘ग्रेजोन’ रिपोर्ट अन्तिम होइन, त्यसको पर्दा पछाडि थप के के योजनाहरू बुनिँदै छ भन्ने कुरा हामीलाई थाहा हुने कुरा भएन, बरु ‘ग्रेजोन’ रिपोर्टमा उल्लेख गरिएको कुरा साँचो हो भने नेपालमा बसेर नेपालकै विरुद्ध चलखेल गर्नु देशप्रतिको गद्धारी हो । यसमा युवाहरु सचेत हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्