
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत् स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ ।
घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत् सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत् महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु. तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताइन् । त्यसअगाडि पनि गाउँपालिकाले पोषण भत्ता वितरण गरिसकेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षदेखि अध्यक्षसँग सुत्केरी कार्यक्रम सुरु गरेको हो । मातृ शिशु मृत्युदर कम गराउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रानाले बताइन् । “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुन्छ”, उनले भनिन्, “त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” उनका अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको संख्या बढेको छ ।
संस्थागत सुत्केरी बढावा गर्न कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताउँछन् । घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको घिमिरेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले दिने रु. तीन हजार पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् । अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत् १७९ जनालाई प्रोत्साहन रकम वितरण गरिएको बताइएको छ ।














