
काठमाडौं । लुम्बिनी क्षेत्र विकास कोषको रिक्त पदमा नौ जना पदाधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विकास कोषमा रिक्त पदमा ९ जना पदाधिकारी नियुक्त गरेका हुन् ।
विकास कोषमा रिक्त नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । नवनियुक्त पदाधिकारीहरूलाई बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाई दिँदै स्वागत गरेका छन् ।
कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार नियुक्त भएका हुन् । त्यस्तै, परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मालाई नियुक्त गरिएको छ ।
नवनियुक्त पदाधिकारीहरूलाई मन्त्री आलेले निश्चिन्त भएर लुम्बिनी क्षेत्रको विकास कार्य अघि बढाउन निर्देशन दिएका छन् । उनले नजिकिँदै गरेको बुद्ध जयन्तीलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन कोषका पदाधिकारी, कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिए ।














