
पर्वत । झण्डै रु. १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ ।
जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शंकरपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर, उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिएका हुन् ।
आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताए । आयोजनाको काम २०७४ फागुनबाट सुरु भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत् विस्तारलगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ । मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर, एक धाराको रुपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयको टोलीले आयोजना स्थलमा आएर अनुगमन गरी उपभोक्ता समितिलाई काम चाँडो सक्न निर्देशन दिएपछि उपभोक्ता समितिले मन्त्रालयले भुक्तानीमा बाधा नपुर्याए चैत मसान्तसम्म उपभोक्तालाई पानी खुवाउने प्रतिबद्धता जनाएको थियो ।
वडाध्यक्ष अर्जुनबहादुर केसीले खानेपानी आयोजनाको काम कहिले सकिन्छ भनेर नागरिकस्तरबाट दबाब आइरहेको जनाउँदै अब समितिले रातदिन नभनी काम गरेर उपभोक्ताको घरसम्म पानी खसाल्नुपर्ने बताए । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार लमाएखोलाबाट कोटसम्म एक हजार ५०० मिटर माथिसम्म पाइपलाइन विस्तार भइसकेको छ ।
लिमिकोटमा दुई लाख लिटरको मुख्य रिजर्भवेयर ट्यांकी, भूमेकोटमा एक लाख लिटर, थुममा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको ट्यांकी निर्माण भइसकेको उनले बताए । थापाठानामा ट्यांकी र पाइपलाइनको काम पनि चलिरहेको छ । अहिलेसम्म रु. तीन करोडको हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट एक हजार ५० घरपरिवारमा पानीको सुविधा पुर्याउने लक्ष्य रहेको छ ।











