Logo
Logo

मेरो नेतृत्वको सरकार अमेरिकाले ढाल्यो : ओली


3.8k
Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेको छ ।

बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सर्वोच्चबाट गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएका समेत टिप्पणी गरे ।

उनले भने, ‘गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै २०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन पाँच वटा बाच्छा पायो ।’

अमेरिकाले आफू नेतृत्वको सरकार ढालेको ओलीको आरोप छ । उनले भने, ‘परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्- केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।’

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गरे । ओलीले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’

अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्