Logo
Logo

प्रकाशको ‘पिर’माथि किन खैलाबैला ? (भिडियोसहित)



काठमाडौं । एक समय गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले बालुवाटारमा खैलाबैला मच्चाएको थियो । गायक शर्माको सो गीतविरुद्ध २०७५ सालमा एमालेले विरोध जनाएको थियो । विरोध चर्किएपछि उक्त गीत युट्युवबाट हटाइयो । र, परिमार्जनसहित पुनः पोस्ट भएको थियो ।

यस्तै, अहिले एउटा गीत राजनीतिकबृत्तमा चर्चामा छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तत्कालीन माओवादी जनयुद्धमा होमिएका एक जोडी पात्रले भोगिरहेको जीवनलाई आधारित बनाएर गायक प्रकाश सपुतले ‘पिर’ शीर्षकमा गीत ल्याएका छन् । त्यसैले उक्त गीत गीतमाथि नेकपा माओवादीका कार्यकर्ताले तिखो टिप्पणी र आक्रोश पोखिरहेका छन् ।

त्यसो त लोकगायक प्रकाश सपुत लोकका गीत खोज्छन् र गाउँछन् । पछिल्लो समय बजारमा आएका उनका गीतहरुले त्यही भन्छ । गीतसंगीत भनेको मनोरञ्जनमात्र होइन, समाजको ऐना पनि हो । जो समाजका घटना र परिघटनाहरु उधिनिएका हुन्छ । अक्सर प्रेमबारे गाइएका गीत चर्चामा आउने गर्छ । तर, प्रकाश सपुत यस्ता गीत गाउँछन्, जुन गीत विवादसँगै चर्चामा आउने गरेको छ ।

यस्तै, अहिले उनले ‘पिर’ सार्वजनिक गरे । उक्त गीत सार्वजनिक हुनेवित्तिकै गायक प्रकाश सपुततिर तिर फर्किएको छ । विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ उक्त गीत बहसको विषय बनेको छ ।

तत्कालीन माओवादी जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो उक्त गीतको आलोचनामात्र नभएर युट्युबबाटै हटाउनसम्मको चेतावनी समेत प्रकाशले सहिरहेका छन् ।

उक्त गीतलाई लिएर नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गायक प्रकाश सपुतलाई गीत हटाउन चेतावनी दिएकी छन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने समेत चेतावनी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू, माननीयहरू र टाठाबाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार, पूर्वजनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन् । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन । विभिन्न तहमा प्रयत्नहरू भइरहेका छन् । तर, व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।’

साथै, उनले जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लखे गर्दै लेखेकी छन्, ‘प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीयविभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नुभयो । तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

यस्तै, माओवादी केन्द्रकी सांसद सत्या पहाडीले गीतले पनि ‘जनयुद्धमा’ सहभागी महिलामात्र नभएर सिँगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरंगनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार बनेका छन् ।’

उनले फेसबुकमा लेखेकी छन्, ‘यसो गरेर प्रकाशको गीतले जनयुद्धमा सहभागी महिला मात्र होइन, सिँगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको छ । यो निन्दनीय छ र कानुनी हिसाबले दण्डनीय पनि। यसको फैसला प्रकाश आफैंले गर्नुपर्ने छ ।’
यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले ‘जनयुद्ध’ लडेको महिला छापामारको अभावलाई देह’ व्यापारमा लगेर गरिएको चित्रण आपत्तीजनक मात्रै नभएर दण्डनीय भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न– अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’

यस्तै, ‘पिर’माथि बहस र आलोचना बढ्दै जाँदा माओवादी भातृ संगठन वाइसिएलका संयोजक सुमन देवकोटाले युट्युबबाट गीत हटाउन गायक सपुतसँग माग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजनैतिक रूपान्तरणको लागि लडेका महिला छापामार (गणतन्त्रको सेनानी)लाई चरित्रहीन नारीको रूपमा चित्रण गरिएको कथित म्युजिक भिडिओ सह्य छैन । गणतन्त्रको सेनानीको अपमान हुने शब्द÷दृश्य तुरून्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु ।’

साथै, उक्त गीतलाई लिएर माओवादीबाहेक अन्यले भने गीत यथार्थमा आधारित भएकाले माओवादी आक्रोशित हुनुको कुनै अर्थ नभएको बताएका छन् ।

माओवादी सशस्त्र युद्धमा सहभागी भएका तर पछिल्लो समय माओवादी त्यागेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुनै विषय नभएको बताएका छन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ती मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कलिलैमा माओवादी सेनामा भर्ती भएका र सेना समायोजनका बेला बहिगर्मनमा परेका बहिर्गमित बालसैनिक संगठनका प्रमुख लेनिन बिष्टले यो गीतले सशस्त्र युद्धमा होमिएका योद्धाहरूको वास्तविकता दर्शाएको बताएका छन् ।

उनले भनेका छन्, ‘सत्यतालाई दृश्यमा देखाउँदा जनयुद्ध र तमाम महिलाहरूको अपमान भयो भन्ने साथीहरूले के बुझ्नुपर्छ भने ‘जनयुद्धको अपमान शब्दको पर्दाले’ योद्धाहरूको पीडालाई छोप्न खोज्नु न्यायसंगत हुँदैन ।’ उनले बरू योद्धाहरूको व्यवस्थापनबारे सोच्नुपर्ने बताएका छन् ।

उक्त गीतमा गायक प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ भने भिडियोमा प्रकाशका अलावा सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरेले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्