काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकको सुरू हुनेवित्तिकै एमालेका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । त्यसअघि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्नेछ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्नेछन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गुरूङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको उक्त महाअभियोग प्रस्तावको समर्थकमा ९५ जना सांसद थिए । गत फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।














