Logo
Logo

‘पिर’ गीत युट्युबबाट हटाउन चार संगठनको माग, प्रतिवाद गर्ने युथफोर्सको घोषणा


5k
Shares

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट ४ संगठनले गायक प्रकाश सपुतको ‘पिर’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका छन् ।

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त गीतको भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल युट्युब च्यानलबाट हटाउन माग गरेका हुन् ।

‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीयकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

उनीहरुले भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको भन्दै आपत्ति जनाएका छन् ।



युथ फोर्सले भन्यो- ‘हामी प्रतिकार गर्छौ’

नेकपा एमालेनिकट युथ फोर्स नेपालले गायक सपुतको पक्ष लिँदै धम्कीपूर्ण भाषा बोलेको छ । युथ फोर्स नेपालले विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न र धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको बताएको हो ।

‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ । तर, पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाईसीयल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्