
काठमाडौं । काठमाडौं महानगरपालिका—७ कालोपुल डेरा गरी बस्ने झापा घर भएका ३१ वर्षीय बिरेन कपाली र ईलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ५ किलो अवैध लागूऔषध गाँजासहित आइतबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट भन्ने स्थानबाट करिब १ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १ लाख ५ हजार रुपैयाँ सहित सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-९ बस्ने ३८ वर्षीय सन्दिप खड्का समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











