Logo
Logo

सुरु भयो स्मार्ट पार्किङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असार । राजधानीको न्यूरोड क्षेत्रमा आइतबारदेखि स्मार्ट पार्किङ सुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङका एक विशेष समारोहबीच उद्घाटन गरे ।
उद्घाटन पछि मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको छ । यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सक्नुहुनेछ भन्ने विश्वास महानगरले लिएको छ ।’
स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।
तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्