विराटनगर । डेढ वर्षीया नाबालिकालाई बलात्कारपछि हत्या गरेको विरोधमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिचेको भन्दै एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा बलात्कारपछि हत्या गरिएको विरोधमा सर्वसधारणले चक्काजाम गरेका थिए । सो क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको अन्यको नाम सार्वजनिक गरिएको छैन ।
मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरिसकेको छ । बालिकाको हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यहाँका सर्वसाधारणले बालिकाका परिवारलाई क्षतिपूर्ति र पक्राउ परेका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए ।
पक्राउ परेकी सञ्चारकर्मी राईले आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताएकी छन् । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड अनलाइनसँग आवद्ध छिन् ।
प्रहरीले भने उनी आन्दोलनमा सहभागी भएको आरोप लगाएको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेका विरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ ।











