
काठमाडौं । आगामी वैशाख ३० गते देशभर एकै साथ स्थानीय तहको निर्वाचन हुँदै छ । सत्तारुढ पाँच दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाले निर्वाचनमा गठबन्धन गरेरै जाने तयारी गरेका छन् । दलहरू अहिले आफ्नो शक्ति बुझ्न देशव्यापी अभियानमा होमिएका छन् । आफ्नो शक्तिको आकलन गरेपछि गठबन्धनबारे निर्णय गर्ने तयारी सत्तारुढ दलहरूको छ ।
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने रणनीति बनाएको छ । काठमाडौंमा गत बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी बनाउन प्रभावकारी ढंगले पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले)बाट बिद्रोह गरेर गठन भएको नयाँ दल एकीकृत समाजवादीका लागि आगामी निर्वाचन शक्ति परिक्षणको रुपमा रहेको छ । यो निर्वाचन एकीकृत समाजवादीको जीवनका लागि एउटा महत्वपूर्ण परिघटना हो । यसमा प्राप्त गर्ने सफलताले एकातर्फ राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ ।
प्रतिगमनकारी कित्ताको नेतृत्वकर्ता केपी ओलीलाई गाली मात्रै हुँदैन, संस्कार, सस्कृति, आचरण, विचार, व्यवहार र कार्यशैलीको हिसावले एमालेभन्दा एकीकृत समाजवादी फरक छ भनेर जनतामा जानुपर्छ । स्थानीय निर्वाचन अवसर र चुनौती दुबै हो ।
एकीकृत समाजवादी पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दुई–दुई पटक गरेको संसद विघटन, ओली सरकारका पालामा भएका विकृति, विसंगति र भ्रष्टाचारका साथै ओलीले कम्युनिष्ट आन्दोलनमा पुर्याएको क्षति र कम्युनिष्ट आन्दोलनलाई पुनगर्ठित गर्दै अघि बढेको एकीकृत समाजवादीको लक्ष्य र उद्देश्यबारे जनतालाई बुझाउनुपर्ने छ ।
छोटो समयमा ७७ जिल्लामा संगठन विस्तार गरेको समाजवादीका नेता तथा कार्यकर्ता टोल–टोलमा खटिइसकेका छन् । सबै वडामा संगठन निर्माण गरेर पार्टी प्रवेश अभियान, जनपरिचालन, प्रशिक्षण र प्रचारात्मक काम जुन रफ्तारमा हुन्छ, समाजवादी यात्रा त्यहि रफ्तारमा अगाडि बढ्छ ।
ओलीलाई गाली मात्रै होइन, संस्कार, सस्कृति, आचरण, विचार, व्यवहार र कार्यशैलीको हिसावले एमालेभन्दा एकीकृत समाजवादी फरक छ भनेर जनतामा जानुपर्छ ।
त्यसका लागि पार्टीले स्पष्ट रोडम्याप तयार पार्नुपर्छ । विकास, निर्माण, मुल्यवृद्धि नियन्त्रण, गास, बास, कपासका साथै रोजगारी सिर्जना, शान्ति सुरक्षा, सुशासनलगायतका विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित समाजवादी शासनको रुपरेखा जनताबीच लैजानुपर्छ ।
महंगी नियन्त्रण, आर्थिक असमानता, गरीबि र बेरोजगारीको अन्त्य गर्दै कसरी आमुल आर्थिक सुधार गर्ने ? भ्रष्टाचार, कमिसनतन्त्र र विचौलियाको दबदबा कसरी अन्त्य गर्ने भन्ने प्रश्नको जवाफ पनि समाजवादीले दिनुपर्ने छ ।
पार्टी निर्माण मात्र नभए एकीकृत समाजवादीको काँधमा लोकतन्त्र र संविधान तथा हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गराउने जिम्मेवारी पनि छ ।
वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्गचरित्र फरक–फरक भएपनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत सहकार्य गर्दै अगाडि बढ्नुपर्छ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्छ ।
लोकतन्त्र र अग्रगमनपक्षधर शक्ति र प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरूबीच आगामी निर्वाचनमा प्रतिष्पर्धा हुनेछ । अग्रगमनपक्षधर शक्तिको नेतृत्व सत्तारुढ गठबन्धनले गरेको छ भने प्रतिगमनकारी शक्तिको नेतृत्व नेकपा (एमाले)ले गरेको छ । एमाले गठबन्धनमा राजावादी दल राप्रपा र विखण्डनको नारा उचाल्ने लोसपा आवद्ध हुने निश्चित छ ।














