Logo
Logo
कला

‘सानो छँदा गुनगुनाउँदै नाच्थेँ



गायनमा चर्चा बटुल्दै गरेकी सुजिता योञ्जन सानोमा हिरोइन बन्न चाहन्थिन् । टेलिभिजनमा हिरोइन नाचेको देख्दा उनी सोच्थिन्, ‘म पनि हिरोइन बन्छु ।’ रामेछापकी २० वर्षीया सुजिता गायन क्षेत्रमा लाग्नुअघि एकान्तमा गुनगुनाउँदै अभिनय गर्थिन् । र, कल्पना गरेका दृश्यमा हराउँथिन् । सुजिता भन्छिन्, ‘हाम्रो घर एकान्त खोला छेउमा छ । त्यही एकान्तमा कल्पना गरेका कथामा भावुक हुन्थेँ ।’ तर, अहिले सुजिता गायिका बनेकी छिन् । उनले करिब तीन दर्जन गीत गाइसकेकी छिन् । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा सहभागी भएसँगै उनी गायनमा औपचारिक रुपमा लागेकी हुन् । ‘मेरो सासमा तिमी’, ‘जुन र तारा’, ‘घुम्नलाई आउँदा’लगायतका आफ्ना गीतका भिडियोमा मोडलिङसमेत गरिसकेकी सुजिता भन्छिन्, ‘फिल्ममा अफर आएमा अभिनय गर्छु ।’ गायिका सुजितासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज केमा व्यस्त हुुनुहुन्छ ?

केही नयाँ गीतहरू गर्दैछु । अहिले त स्टुडियो जानेआउनेमै व्यस्त भन्नुपर्ला ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मार्फत तपाईँ गायनमा उदाउनुभएको हो ?

मैले त्यसअघि पनि ‘कभर सङ’हरू गर्दै आएकी थिएँ । आफ्नै गीत रेकर्ड गरेको चाहिँ ‘भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि नै हो ।

‘भ्वाइस अफ नेपाल’मा कसरी पुग्नुभयो ?

सानैदेखि आफ्नो कला देखाउन चाहन्थेँ । तर, त्यो प्लेटफर्म पाएकी थिइनँ । मैले ‘भ्वाइस अफ नेपाल’ सिजन–१ बाटै हेर्दै आएकी थिएँ । सिजन–३ मा पुगेपछि भाग लिएकी हुँ ।

प्रतिस्पर्धामा भाग लिएपछि जित्ने अभिलाषा हुन्छ । तपाइँ नकआउट रनबाटै आउट हुँदा कतिको दुःख लाग्यो ?

मलाई दुःख लागेन किनकि, अडिसन पास हुँदा नै सफल भइसकेँ जस्तो महशुस भएको थियो । अर्को कुरा, प्रतिस्पर्धामा सहभागी हुनेवित्तिकै जित्नैपर्छ भन्ने छैन । हारेर पनि धेरै कुरा सिकिन्छ । मेरो लागि ‘भ्वाइस अफ नेपाल’ एउटा प्लेटफर्म हो, जसबाट धेरै सिकेँ ।

‘भ्वाइस अफ नेपाल’बाट के सिक्नुभयो ?

भ्वाइस अफ नेपालबाट गीतसंगीतको बारेमा धेरै सिकेँ । जीन्दगी के हो भन्ने बुझेँ । अरु थुप्रै कुरा बुझ्ने मौका पाएँ ।

जीन्दगीको बारेमा के बुझ्नु भयो त ?

जीन्दगी बुझेर बुझ्न नसकिने रहेछ । जिउनुलाई मात्र जीन्दगी होइन, आफ्नो लागि त जनावरले पनि जिउछ । त्यसैले अरुका लागि केही गर्न सक्नु नै जीन्दगी हो भन्ने बुझेँ ।

फस्यौंली देखिनुहुन्छ, कुराचाहिँ किन भावुक ?

म भावुक पनि छु । तर, कुनै कुरामा किन भावुक हुनुजस्तो पनि लाग्छ । गाउँमा हुँदा मनमनै फिल्म बनाउँथे । मनमै कथा कल्पना गर्थे र अभिनय गर्थे । यस्ता केही दृश्यमा डुबेर रुन्थेँ । गाउँमा हाम्रो घर एकान्त खोलाको छेउमा छ । तर, म कला देखाउन चाहन्थेँ । त्यही इच्छा र रहरले भ्वाइस अफ नेपालसम्म पुगेकी हुँ ।

कस्तो दृश्यमा रूनुहुन्थ्यो ?
सेन्टिमेन्ट दृश्यहरू कल्पना गर्थेँ । विशेषगरी बाबुले आमालाई डिभोर्स दिएको जस्ता सीन सम्झिन्थेँ र रुन्थेँ ।

अभिनयमा सौखिन भएर गायनतिर किन ?

मलाई जसरी पनि आफ्नो कला र प्रतीभा देखाउनु थियो । अहिले गायनमार्फत कला देखाइरहेकी छु ।

मोडलिङका लागि अफर आए के गर्नुहुन्छ ?

मेरो इच्छा मोडलिङमा पनि हो । तर, अहिले आएर म्युजिक रोजिसकेकी छु । त्यसैले आफ्नो गीतको भिडियोमा मात्र मोडलिङ गर्छु । भोलिका कुरा भोलि नै थाहा हुन्छ ।

गायन रोजेर खुसी हुनुहुन्छ ?

खुसी छु । गायन होस् वा मोडलिङ, आखिर ग्ल्यामरस क्षेत्र नै हो । काम गर्दै जाँदा फिल्म क्षेत्रमा पनि पुग्न सकिन्छ ।

फिल्ममा प्रस्ताव आयो भने गर्नुहुन्छ ?

अवश्य पनि गर्छु । फिल्ममा हिरोइन बन्ने मेरो सानैदेखिको इच्छा हो ।

गायनबाहेक अरु के गर्नुहुन्छ ?

म अहिले गायन र अध्ययनमा छु । म संगीतकै विद्यार्थी हुँ । भर्खरै म्युजिकमा प्लस–२ सकियो । अब ब्याचलर पढ्छु ।

तपाइँको लक्ष्य के हो ?

भविष्यको कुरा भन्न सकिन्नँ । तर, मेरो सोच यही ग्ल्यामरस क्षेत्रमा निरन्तर काम गर्दै जाने छ ।

प्रतिक्रिया दिनुहोस्