इलाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रीत गतिविधिलाई तिव्र बनाएको छ । यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चुनावी सभालाई सम्बोधन गर्न इलाम आएका छन् ।

फिक्कल बजमारमा आयोजित सभामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङका लगायत नेताहरु सहभागी छन् । इलाम उपाध्यक्ष नेम्वाङको गृह जिल्ला हो । इलामकै नेता झलनाथ खनाल भने एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीमा छन् । फिक्कल नेता खनालको चुनावी क्षेत्र हो, जहाँ एमालेले शक्ति प्रदर्शन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई चुनौती दिएका छन् । नेता खनालले आगामी चुनावमा एमालेको बाकसमा जिरो भोट दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताएको भोलिपल्ट आइतबार नेम्बाङले यस्तो चुनौती दिएका हुन् ।
नेता नेम्बाङ भने, ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’
उनले इलाममा मात्र नभएर मेची महाकाली, तराई–मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर नाम नलिइ कमरेडहरु छक्क परिरहेको होला भन्दै नेता खनाललाई कटाक्ष गरेका छन् ।











