काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग वाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको बिभिन्न बैठकमा आफुले वाम एकताको कुरा गरेको समेत बताए ।
उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको धारणा पनि राखे । अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएको उनको भनाई छ ।
त्यस्तै उनले आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्न सक्ने तर्क गरे ।
उनले कम्युनिस्ट दल एक हुँदा केही व्यक्तिको हैसियत गुम्ने भएकाले यसको बिरोध गरिएको पनि बताए ।











