Logo
Logo

राष्ट्रपतिद्वारा विजेता कविहरू पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी छन् ।
महोत्सवमा प्रथम भएका काभ्रेका कवि तथा पत्रकार फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मोरङकी मेनुका चापागाईं र तेह्रथुमकी एलिना दुलाललाई जनही २० हजार रुपैयाँ र रजत पदक हस्तान्तरण गरिन् । तेस्रो हुने रामेछापका कवि जीवन खत्री देशबाहिर भएका कारण उपस्थित भएन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित पुरस्कार प्रदान समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरेकी छन् ।
समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन् । उनले पुरस्कृत कविका कविताहरूबाट सिंगो राष्ट्र नै लाभान्वित भएको विचार व्यक्त गर्दै राष्ट्रको पर्यटन प्रबर्धनमा स्रष्टाका सिर्जनाहरूको महत्वपूर्ण भूमिका रहने हुँदा यसतर्फ स्रष्टाहरूले कलम चलाउनु पर्नेमा जोड दिइन् ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका कवि प्रतिभाहरूलाई सिर्जनाकर्ममा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए बताए । सो अवसरमा कुलपतिले नेपालको समग्र सांस्कृतिक पहिचान झल्काउने महाग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशन गर्ने अभियानमा प्रज्ञा–प्रतिष्ठान लागेको सुनाएका थिए ।
उपकुलपति डा. जगमान गुरुङले पुस्ता र दक्षताको हस्तान्तरण गर्दै लैजानु नै कविता महोत्सवको उद्देश्य भएको बताए । त्यस्तै, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले आगामी दिनमा कविता महोत्सवलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए । कविता महोत्सवका संयोजक एवं काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कवि प्रतिभाको विकास र कविता विधाको उन्नयनमा कविता महोत्सवले विशेष भूमिका खेल्दै आएको उल्लेख गर्दै यस वर्षदेखि कविता वाचन कलालाई पनि मूल्याङ्कनको आधार बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्