Logo
Logo

राउटेलाई नागरिकता, बस्ती हेर्न शुल्क


- दृष्टि न्युज/संवाददाता


सुर्खेतको लेकबेसी नगरपालिका ९ ज्यामिरे जंगलमा अवस्थित लोपोन्मुख राउटे बस्ती ।

दुल्लु, ४ असार । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो ।
सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा मानबहादुर विकेले बताउनुभयो । राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा विकेले बताए ।
‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको बताउँदै उनले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए ।
अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् । राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । प्रक्रिया पु¥याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ ।

राउटे बस्ती हेर्न शुल्क

बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ ।
लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका लागि रु २०, विदेशी नागरिकका लागि रु ५००, अडियो भिडियो डकुमेन्ट्री मोबाइलका लागि रु १००, अडियो, भिडियो र क्यामराका लागि रु एक हजार शुल्क तोकेको छ ।
शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको संख्या घटेको छ । बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताउनुभयो । अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छी बजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ । RSS

प्रतिक्रिया दिनुहोस्