काठमाडौं । अनेक घुसकाण्डमा चुर्लुम्म डुबेपछि चोलेन्द्रशम्शेर राणाविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगको प्रस्ताव दर्ता भई छानबिन समिति गठन भइसकेको छ ।
राणा निलम्वित प्रधानन्यायाधीशको हैसियतमा बालुवाटार निवासको चौघेरामा बन्दीजस्तै जीवन बिताइरहेका छन् । राणाविरुद्ध महाभियोग दर्ता भएपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

निलम्वित प्रधानन्यायाधीशले सरकारी निवास, सेवा सुविधा नैतिकताको हिसाबले छाड्नुपर्ने हो । तर, विपक्षी दलका नेता केपी शर्मा ओलीको आदेश कुर्दै लाज पचाएर सरकारी निवासबाटै सेटिङ चलाइरहेका छन् ।
राणा उनै व्यक्ति हुन् जस्ले न्यायपरिषद् बैठक बसाल्नसमेत असफल रहे । उनी पदमा रहँदा तटस्थ र स्वतन्त्र भूमिकामा रहन सकेनन् । न्यायमै भेदभाव, पक्षपात र मोलाहिजा भएको भन्दै नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशले बेञ्च बहिष्कार गरे ।
प्रधानन्यायाधीश भएका बेला गरिएका प्रतिबद्धताअनुरूप न्यायाधीश नियुक्ति स्वतन्त्र र तटस्थ हुन सकेनन् । न्यायाधीश नियुक्तिमा विधि र प्रक्रिया मिचेर आसेपासेलाई खल्तीबाट निकालेर ‘श्रीमान’ बनाइयो । न्यायपालिकाको महत्वपूर्ण निकाय नेपाल बारसँग सम्बन्ध सुखद् रहेन ।
यसो त परिषद्कै पदाधिकारीसँगसमेत कटु सम्बन्ध रह्यो । चिसो सम्बन्धका कारण अन्तिम समयमा परिषद् बैठक नै बसाल्न नसक्ने परिस्थिति बन्यो ।
एकल स्वार्थका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग चोचोमोचो गाँसियो । यसको परिणाम न्याय परिषद्, सर्वोच्चभित्र र बाहिर चारैतिर आलोचना भयो ।
न्यायपालिकामा राजनीतिक घुसपैठ र इजलास गठनमा ‘सिन्डिकेट’ को आरोप लाग्यो । उनी न्यायिक निर्णयमा कानुनी मान्यता र प्रक्रियाको प्रश्न उठ्यो ।
आफ्नो अडानमा रहन नसकेको र अरूबाट निर्देशित भएका घटनाहरु सतहमै छताछुल्ल भए । नियुक्तिमा ठाडो राजनीतिक हस्तक्षेप भएको प्रश्न उठिरहे । राणा पूर्वाद्र्धमा एउटा र उत्तराद्र्धमा अर्को राजनीतिक पार्टी नजिक रहेको आरोप लाग्यो ।
भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राखेर निर्णय गर्ने पूर्वप्रतिबद्धता पूरा भएन । प्रधानन्यायाधीश हुँदा व्यक्त भएको भ्रष्टाचार र विकृति अन्त्य गर्ने कार्ययोजना धुलिसात पारियो ।
राणा निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको गंभिर आरोपसमेत राणामाथि छ । जिम्मेवार पदाधिकारीकै संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गर्दै प्रधानन्यायाधीश राणा, उनकी पत्नी र परिवारका सदस्यले अस्वाभाविक एवम् अमिले जीवनशैली प्रदर्शन गरेको दाबी नागरिक आन्दोलनका अगुवाहरुले गर्दै आएका छन् ।
राणाकै संरक्षणमा विचौलियाहरूले आफ्नो अवाञ्छित गतिविधि सञ्चालन गरेको आवाज सर्वोच्च अदालतभित्रै चर्को रुपमा उठ्यो । अदालतमा परेका मुद्दाहरूको सुनुवाइका लागि प्रकाशित हुने पेशी सूचीमा शंकास्पद चलखेलहरु हुने गरेका संगिन आरोपहरु निरन्तर लागिरहे ।
सर्वोच्चमा इजलास गठन गर्दा मुद्दाको प्रकृति, विगो, मुद्दाका पक्षको हैसियत हेरेर त्यसै अनुरूप न्यायाधीशको इजलास गठन गरिएका घटनाहरु पनि सतहमै छरपस्ट भए ।
एउटै प्रकृतिका विवाद र कानूनी प्रश्न भएको मुद्दामा न्यायको स्थिरता र एकरुपता हुनुपर्नेमा त्यो नदेखिएको भनेर गंभिर प्रश्नहरु उठे । कुनै मुद्दामा हुनसक्ने आदेश वा फैसलाको पूर्वानुमान लगाउन सकिने अवस्थासमेत आयो ।
विचौलिया र दलालको चलखेललाई बढावा दिने धन्दा संस्थागत गरिए । राणा विचौलियाको प्रभावमा परी न्यायसम्पादनमा विचलन भएका थुप्रै घटना सार्वजनिक भए ।
आफ्ना कर्तुत ढाकछोप गर्न तथाकथित स्वतन्त्र कानुनव्यवसायी अभियानका नाममा वकील र कर्मचारीसमेत किनिएका प्रसङ्गहरु अहिलेसम्म सेलाएको छैन ।
कार्यकारी पदाधिकारीको नियुक्तिमा अपवित्र साँठगाँठ भएका गंभिर प्रश्नहरु सेलाएका छैनन् । पत्नी हत्या आरोपी सशस्त्रका तत्कालिन एआइजी रञ्जनकृष्ण कोइरालाको कैद घटुवा, एनसेलको कर छली, छाउनीस्थित प्रेरणाको घर जग्गाको फैसला हुँदा न्यायको हुर्मत काढिएका लाञ्छनाहरु छँदै छन् । र, भ्रष्टाचारमा एकअर्कालाई पोषेका संगिन आरोपको भारी बोकेर राणा घर फर्किएका छन् । यस्तो अबस्थामा कुनै हालतमा उन्मुक्ति स्विकार्य नहुने आवाजहरु नागरिक तहबाट उठिरहेका छन् ।
अनियमितताका विषयमा न्यायाधीशविरुद्ध न्याय परिषदमा परेका गम्भीर प्रकृतिका उजुरीमा राणाको पालामा कुनै कारबाही हुन सकेन । न्यायिक निर्णय विचौलिया र दलालको हातमा पुगेका गुनासाहरु अझै मथ्थर भएका छैनन् ।
न्यायिक निर्णय प्रधानन्यायाधीशकै काबु बाहिर पुगेको खुल्लमखुल्ला भयो । ‘टिम स्पीरिट’ भन्ने चिज देख्न पाइएन । न्यायिक निर्णयमा सर्वोच्चका सहकर्मी न्यायाधीशले नै अविश्वास गरे । राणाको निरङकुश शैलीका कारण निकट सहकर्मी न्यायाधीशसमेत टाढिए ।
वास्तवमा प्रधानन्यायाधीशका रूपमा राणाको कार्यकाल इतिहासमै कुरुप र बिर्सनलायक थियो । अन्ततः राणा आफैले खनेको खाल्डोमा परे । सडकमा हिंड्ने सर्वसाधारणले यतिवेला फेरी सोध्दै छन्– राणा अझै पनि वालुवाटारमै ?











