
काठमाडौं । जयनगर–कुर्था रेल सेवाको उद्घाटन आउँदो शनिवार हुँदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्दैछन् । त्यसक्रममा नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा नेपाल रेल सेवाको उद्घाटन गर्न लागेका हुन् । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाका अनुसार नेपालका देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रुपमा रेल सेवाको उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री देउवा आगामी शुक्रवार भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा भारत जाने भएका छन् । जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश जारी गरेपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले बताए । यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन खडा भएको थियो ।
गत फागुन १ गतेदेखि जयनगरदेखि जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलतापछि रेल सेवा उद्घाटनको मिति तय गरिएको जनाइएको छ ।














