
सप्तरी । रगत अभावका बेला नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासंघको स्थापना दिवस मनाएको छ ।
महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो । पत्रकार महासंघ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासंघका जिल्ला अध्यक्ष श्रवण देवलगायतले रक्तदान गरेका छन् ।
यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशंकर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रविन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागाईं, सामाजिक कार्यकर्ता रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साहलगायतले रक्तदान गरेका छन् । विसं २०११ चैत १६ गते पत्रकार महासंघको स्थापना भएको हो । महासंघको स्थापना दिवसको अवसरमा सहभागी प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नाका साथै सञ्चार क्षेत्रले सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको बताए ।
संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानुन र संरचना निर्माणका लागि महासंघले थप पहल र खबरदारी गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन् ।














