काठमाडौं । टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्र तनावग्रस्त बनेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा र आगजनी गरेका छन् । उक्त क्षेत्रमा त्यहाँ बाक्लो संख्यामा प्रहरी खटिएको छ ।

बुधबार बिहान ३१ वर्षीय रोहन घिसिङ मोटरसाइकलमा दुई छोरी लिएर बस स्टपसम्म जाँदै गर्दा टिपरले ठक्कर दिएको थियो । बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए । सृष्टि कक्षा २ मा पढ्थिन् । श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन् । उनीहरु सोही नगरपालिका–४ मा रहेको वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे ।
वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो । मोटरसाइकल अगाडि बढिरहेका बेला चालकले टिपरलाई ब्याक गरिरहेका थिए । बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
चालकले टिपर ब्याक गरेको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












