काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीइ निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । नेपालमा एमालेसँग लड्ने कुनै पनि पार्टी नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाइँले सूर्यविनायकमा सञ्चालनमा ल्याएको तरकारी बजारको बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । यसकारण गठबन्धन गर्न जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ ।’
सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ । सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा पनि एमालेलाई कुनै फरक नपर्ने उनले बताए ।
अध्यक्ष ओलीले भने, ‘कतिपय साथीहरूलाई लाग्नसक्छ गठबन्धन गरेका छन् कतै अप्ठ्यारो पर्छ कि ? मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एक–एक किलोका पाँचवटा ढक एकातिर क्विन्टलको ढक एकातिर राखे के हुन्छ ?’
पाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उनको भनाइ छ । ‘हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ’ उनले भने, ‘पाँचजना थपिदैथपिदै आउनुभयो भने अलि बराबरबराबर लड्नपनि सजिलो हुन्छ सोझै लड्न पाइयो नि !’ पाँचजना अलगअलग निहुरिएर लडाईं गर्दा झ्याउ हुने उनले बताए ।











