Logo
Logo

दुई दलीय जनवाद कि बहुदलीय जनवाद ?



आजकाल एमाले महासचिव शंकर पोखरेलको भाषण सुन्ने हो भने नेपाली राजनीतिलाई दुई ध्रबीय बनाउनुपर्ने बारेमा बोलिरहेको पाउँछौँ । उनी मात्र होइन, उनीबाहेक छोटेबढे सबै एमाले नेताहरु आफ्नाबारेमा भोट माग्दै त्यसो गर्न नसकेमा कांग्रेसलाई मतदान गर्न सार्वजनिक ढंगले आह्वान गरिरहेका छन् ।

उनीहरुको यो कसरत नेपाली राजनीतिलाई दुई धु्रबीय बनाउने नै हो । जुन सरासर जनताको बहुदलीय जनवादको विरुद्धमा छ । उनीहरु जबजको विरुद्धमा किन उभिए ? यसका सन्दर्भमा केही छलफल गरौं ।

फरक विचारलाई समाप्त पार्ने पहिलो तरिका हो– आफ्नो विचारलाई स्थापित गर्नु । दोस्रो तरिका भनेको– फरक विचारमा घुसपैठ गरेर भित्रैबाट समाप्त पार्नु । यो दोस्रो तरिकाको प्रयोग साम्राज्यवादीहरुले संसारभरका थुप्रै आन्दोलनहरुमा गरिसकेका छन् ।

सोभियत संघको पतन र विघटन पूँजीवादीहरुले गरेका थिएनन् । मिखाइल गोर्वाचोभ र एल्तसिनहरु कम्युनिष्ट पार्टीकै नेता थिए । उनीहरुले कम्युनिष्ट पार्टीकै पद र सदस्यता देखाएर सोभियत संघ र त्यहाँको कम्युनिष्ट पार्टीलाई समाप्त पार्न नेतृत्वदायी भूमिका खेले । त्यसबाहेक अमेरिकन गुप्तचर संस्था सीआइएले विश्व कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न संसारभरका कैयौ ठाउँहरुमा उग्रकम्युनिष्ट पार्टीहरुको निर्माण गरेको तथ्य प्रमाणित भइसकेका छ ।

जबजप्रति केपी ओलीको निष्ठालाई हिजो कसैले शंका गरेन । तर उनी अध्यक्ष हुनेबित्तिकै पहिलो निशाना जनताको बहुदलीय जनवाद बन्यो । आज दुई दलीय व्यवस्थाको पक्षपोषण गर्दा ओली र शंकर पोखरेलहरु हिजोदेखि नै कतैबाट सञ्चालित थिएनन् भन्नका लागि कुनै आधार रहेन ।

सीआइएले खोलेका कम्युनिष्ट पार्टीहरु प्रायः उग्र विचारका हुन्छन् । तर त्यो उग्रताले कम्युनिष्ट विचारको बदनाम गरेर आफैँ विर्सजन हुन्छ । नेपालमा पनि जबजको विरोध यसतर्फ आलोचनात्मक दृष्टिकोण राख्नेहरुबाट भन्दा यसका प्रखर व्याख्याता र उग्र जबज भनिनेहरुबाट नै भइरहेको देखिन्छ ।

यसबाट के भन्न सकिन्छ भने हाम्रो कम्युनिष्ट आन्दोलन पनि घुसपैठमुक्त छैन । हामीले पनि नेपाली कम्युनिष्टहरुको धेरै उग्रता सुनेका छौँ । त्यसबाट भएका क्षति पनि व्यहोरेका छौँ । २०१७ साल पुस १ मा राजा महेन्द्रले सुरु गरेको प्रतिगमनतर्फको यात्रामा तत्कालीन कम्युनिष्ट पार्टी र यसका महासचिव केशरजंग रायमाझीले समर्थन गर्दै दिपावली गरेका थिए ।

त्यसबाहेक २०३७ सालको जनमतसंग्रहमा नेपाली कम्युनिष्टहरुले बहिष्कार नै गरेका थिए । सेक्टर काण्ड, हर्रेबर्रे काण्ड, पिस्कर र झापा आन्दोलन तथा सशस्त्र जनयुद्धजस्ता ऐतिहासिक घटनाहरु साँच्चिकै क्रान्ति थिए कि त्यहाँभित्र पनि धेरथोर उग्रता थियो ? अझै समीक्षा भइरहेको छ । त्यो उग्रता नियतवश नहुन पनि सक्छ । तर, त्यसले आन्दोलनलाई कति फाइदा पुग्यो ? कति नोक्सान भयो ? यसबारेमा पनि छलफल गरिनुपर्छ । यसले कम्युनिष्ट आन्दोलनलाई फाइदा नै हुन्छ ।

यावत जडसुत्रता, आडम्बर र उग्रताविरुद्ध जनताको बहुदलीय जनवाद विचारको उदय भएको थियो । विचार र व्यवहारबीचको भिन्नता, माग र चेतनाका बीचको तादाम्यता तथा राज्य र स्वयं कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको जगमा जबज उभिएको थियो । फलस्वरुप यो विचारले नेपाली जनताको घर–आँगनसम्म जबर्जस्त जरा गाड्यो । यसकै कारणले नेपाली कम्युनिष्टहरु दिनप्रतिदिन लोकप्रिय हँुदै गए । प्रतिक्रियावादीहरु हैरान भए । जबजविरुद्ध उनीहरुका वैचारिक हतियार भुत्ते सावित भएका थिए ।

सबैलाई थाहा छ, जबज कमरेड मदनको अगुवाइ र माधवकुमार नेपालको समर्थन तथा योगदानमा विकसित भएको थियो । यसका सन्दर्भमा केपी ओलीको केही योगदान थिएन । त्यतिखेर पार्टीमा ओलीको हैसियत योगदान गर्ने तहमा नभएर पनि त्यसो भएको हुनसक्छ । ओली आफू सामेल नभएको विचारको पक्षमा मन, वचन र कर्मले उभिन सकेनन् । तथापि, यसका विरुद्ध उभिने आँट पनि गरेनन् । बरु उग्रताका साथ सर्मथनमा आए । जबजप्रति उनको उग्र समर्थन र अराजकता शंकास्पद थियो । तथापि, मान्छेहरुले यसतर्फ ध्यान दिएनन् । प्रतिक्रियावादीहरु हामी बीचमै विभिषणको खोजीमा हुनसक्थ्यो । तर होसियारी गरिएन । त्यो अवसर केपीजस्ता चतुर र बाचाल नेताले नबझ्ने कुरै थिएन । आजकालका उनका हर्कतहरुले उनको शंकास्पद संलग्नता सावित भएको छ ।

कमरेड मदनको अवसान पछि नेतृत्वमा आउनु भएको माधव नेपालले जबजको विकास, विस्तार र स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । तथापि ओली सदाबहार माधवको विरोधीको रुपमा रहिरहनुभयो । ओलीले जबजको विरोध गर्नु भएन, तर यसका प्रवद्र्धकहरुको विरुद्धमा आफूलाई उभ्याइरहनुभयो । जबजको सन्दर्भमा भन्ने हो भने आफूलाई अब्बल समर्थक देखाउन जति प्रयत्न गर्नुपर्ने हो त्यो भन्दा धेरै ओलीले गर्नुभयो अथवा उहाँलाई गर्न लगाइयो ।

शंकास्पद लगानीमा मदन भण्डारी फाउण्डेशन गठन भयो । फाउण्डेशनमा संगठित हुनेहरु जबजवादी र त्यसमा संगठित नहुने अन्य एमालेहरु जबज विरोधी भन्ने धारणा स्थापित भयो । कार्यकर्ताहरु भ्रममा परे । त्यही भ्रमको सिँढी चढेर ओली एमालेको अध्यक्षसम्म भए । आज जनताको बहुुदलीय जनवादलाई परित्याग गरेर दुई दलीय व्यवस्थाको पक्षपोषण गर्ने ठाउँमा आइपग्नुभएका केपी ओली र शंकर पोखरेलहरु हिजोदेखि नै कतैबाट सञ्चालित थिएनन् भन्नका लागि अब पनि कुनै आधार रहेन ।

जबजप्रति ओलीको निष्ठालाई हिजो कसैले शंका गरेनन् । तर उनी अध्यक्ष हुनेबित्तिकै उनले माओवादीसँग गरेको पार्टी एकताको पहिलो निशाना जनताको बहुदलीय जनवाद बन्यो । एकीकृत पार्टीको पहिलो दस्तावेजबाट जबज हटाइयो । जनताको बहुदलीय जनवाद हटाउने पहिलो हस्ताक्षरकर्ता पनि कमरेड ओली नै थिए । जबजको भर्याङ चढेर अध्यक्ष भएका ओली आफू पार्टी सत्तामा आउनेबित्तिकै त्यो विचार समाप्त पार्न किन उद्यत भए ? यो महत्वपूर्ण अनुुसन्धानको विषय छ ।

पार्टी विभाजनपछि केपी ओलीले नेतृत्व गरेको पार्टीको ब्यानरहरुमा जबज लेख्ने गरिए पनि यसको अन्तर्वस्तु समाप्त गर्ने अभियानको नेतृत्व पनि आजसम्म केपीले नै गरिरहेका छन् । आजकाल उनको भाषणहरुमा जनताको बहुदलीय जनवाद भन्ने शब्द पटक्कै सुन्न पाइँदैन । त्यसबाहेक आफ्ना मान्छेहरुबाट जनताको बहुदलीय जनवादी व्यवस्था होइन, दुई दलीय व्यवस्थाको बारेमा बोल्न लगाइरहेका छन् । यो दुई दलीय व्यवस्थाको धारणा प्रतिक्रियावादीहरुकै इसारामा आएको हो, जसको वकालत शंकर पोखरेलहरुले गरिरहेका छन् ।

जबजले बहुदलीय व्यवस्थाको सर्मथन गर्छ, उनीहरु दुई दलीय व्यवस्थाको पक्षपोषण गर्दछन । जबजले पार्टीभित्र आन्तरिक लोकतन्त्रको कुरा गर्छ, उनीहरु मनोनित पार्टी कमिटीहरु निर्माण गर्छन । जबजले प्रतिष्पर्धावाट श्रेष्ठता हासिल गरेको नेतृत्व खोज्छ, उनीहरु महाधिवेशन प्रतिनिधिसमेत मनोनित गर्छन । जबज स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन्छ, उनीहरु न्यायालयको फैसलालाई ‘परमादेश’ भन्दै खिल्ली उडाउँछन् । जबज सार्वभौम संसदको वकालत गर्छ, उनीहरु संसद भंग गर्छन् या त चल्न दिँदैनन्, अवरोध गर्दछन् । जबज श्रमिक वर्गको हितमा कानुन बनाउने विचार प्रसार गर्छ, उनीहरु यति ओम्नी र वतासको हितमा कानुन दुरुपयोग गर्छन ।

यसरी अहिलेको एमाले पुरानो एमाले होइन । यो सम्पूर्ण हिसाबले र मन, बचन र कर्मले समेत जबज विरोधी छ । जबज समाप्त पार्नु प्रतिक्रियावादीहरुको अभिष्ठ थियो । उनीहरु प्रतिस्पर्धाबाट जबज समाप्त पार्न सक्दैन थिए । जबजवादीहरुकै बीचबाट गोर्भाचोव र एल्तसिन खोजिनु जरुरी थियो । तत्कालीन एमालेभित्रका सदावहार प्रतिपक्षी ओली प्रतिक्रियावादीहरुको रोजाइमा पर्नु अस्वाभाविक होइन ।

अहिले केपीका क्रियाकलाप र शंकर पोखरेलका धारणाहरुले त्यो शंकालाई पुष्टि गरिरहेका छन् । उनीहरुमा कम्युनिष्टविरोधी गोर्भाचोव र एल्तसिनका गन्धहरु आइरहेको छ । जबजले परिकल्पना गरेको कम्युनिष्ट पार्टी र राज्यका सन्दर्भमा उल्लेख भएका सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थाका प्रावधानहरुको विरुद्धमा उनीहरुको गतिविधि छानबिन गर्न लायक छन् ।

अब के गर्ने ? यो समस्या समाधानका दुई तरिका छन् । पहिलो एमालेभित्रबाट अर्को विद्रोहको आवश्यकता, दोस्रो निर्वाचन । एमालेभित्र प्रतिदिन विद्रोह भइरहेको छ । तर यो आकारको विद्रोहले मात्र पुग्दैन । जहाँसम्म निर्वाचनको कुरा छ, त्यो जनताको हातमा हो । मदनका विचारहरुमाथि षड्यन्त्र गर्ने विश्वासघातीहरुलाई जनताले अस्वीकार गर्नुपर्छ ।

निर्वाचनका माध्यमबाट प्रतिक्रियावादीहरुका पुतलाहरु जलाउन सकिएन भने घनश्याम भुसालहरुले भनेझै नेपालको कम्युनिष्ट आन्दोलन सत्यानाशको बाटोतर्फ अग्रसर हुनबाट कसैले रोक्न सक्दैन । आलुको बोराबाट कुहिएको आलु फ्याँक्ने जिम्मा जनतालाई नै दिनुपर्छ । जनताको सचेत चेतना र जिम्मेवारीले मात्र अब कम्युनिष्ट आन्दोलन जोगिन सक्छ । आगामी स्थानीय तहको निर्वाचनले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य र बाटो निर्धारण गर्नेछ ।

यो निर्वाचन स्थानीय तहको जनप्रतिनिधिको छनोटमा मात्र सीमित छैन । यो एक प्रकारको मिनी जनमतसंग्रह पनि हो । हामी यो चुनावमा गैरकम्यनिष्टहरुसँग प्रतिस्पर्धा मात्र गर्न गइरहेका छैनौँ । नेपाली कम्युुनिष्ट आन्दोलनको शुद्धीकरण तथा भाग्य र भविष्य तय गर्ने अभियानको रुपमा समेत बुझ्दैछौँ । जनताको बहुदलीय जनवादलाई प्रतिस्थापन गर्न प्रस्तुत गरिएको दुई दलीय व्यवस्थाका धारणा आगामी निर्वाचनमा पराजित गर्न जरुरी छ । मदनका विचारहरु बोकेर गाउँबस्ती पसौँ ।

(लेखक, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्