
एजेन्सी । फिफा विश्वकप कतार २०२२ मा प्रयोग गरिने अफिसियल बल सार्वजनिक भएको छ ।
यही वर्ष एशियाली राष्ट्र कतारमा आयोजना हुने विश्वकपको अफिसियल बल सार्वजनिक भएको हो । खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासद्धारा उत्पादित ‘अल रिल्हा’ नामक बलको प्रयोग यसपटकको विश्वकपमा हुँदैछ । सो बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झन्डाबाट प्रेरित रहेको एजेन्सीले उल्लेख गरेको छ ।
फिफा विश्वकपका लागि एडिडासले तयार पारेको यो बल १४ औँ हो । यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्णरूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दाबी एडिडासको छ । यो बल उत्कृष्ट, लामो समयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको दाबी फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले गरेका छन् । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदैछ ।
यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो । यसपटकको विश्वकपमा अहिलेसम्म आयोजक कतारसहित २७ वटा देशहरु छनोटमा परिसकेका छन् ।











