Logo
Logo

सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छः महेश्वर गहतराज


693
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको सातदोबाटोमा हिजोदेखि सुरु भएको खेल प्रशिक्षकहरुका लागि ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले देशव्यापी रुपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री गहतराजले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सातै प्रदेशमा यस प्रकारका तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशनसमेत दिए ।

निकट भविष्यमै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको तयारी भइहरहेको जानकारी दिँदै त्यसको तयारीमा लाग्नसमेत मन्त्री गहतराजले प्रशिक्षकहरुलाई निर्देशन दिए । “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययनपछि प्रतियोगिताको मिति तय हुन्छ” उनले भने, “सात वटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुनेगरी तयारी सुरु गर्नुहोस् ।” बागमती प्रदेशले पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको भन्दै मन्त्री गहतराजले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिए ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धी प्रशिक्षणसमेत आवश्यक रहेको बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्धारा ७ दिनसम्म सञ्चालित क्षमता अभिवृद्धि तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्