
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
रिपोर्टर्स् क्लब नेपालको २४ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहको उद्घाटन गर्दै उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलायमान बनाउने बताउँदै अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेगरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गरे । उनले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताए ।












