काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोरत व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव विश्व अर्यालले निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड/अनलोड रोकेको बताए । उनका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने छ ।
व्यवसायीको आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय भन्दा ट्यांकर प्रभावित भएका छन् भने १ हजार बढी बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुनेछ ।
पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोड÷अनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । निगमकाअनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ ।












