Logo
Logo
कला

‘गायिका बन्नकै लागि काठमाडौं आएकी हुँ’



सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी गायिका हुन् दीपा सुहाङ । रेडियोमा गीत सुनेकै भरमा गायिका बनेको उनी स्मरण गर्छिन् । ‘गाउँको मान्छे, सानोमा रेडियो सुनेरै रमाइलो गरिन्थ्यो’ पाँचथर सुभाङकी दीपा भन्छिन्- ‘अग्रजका गीत सुन्दासुन्दै गायिका बन्ने इच्छा जाग्यो ।’ दीपाको हालैमात्र ‘जादू छ’ बोलको गीत सार्वजनिक भएको छ । यतिखेर उनी सोही गीतको प्रमोशनमा छिन् । ८० भन्दा बढी गीतमा स्वर दिइसकेकी दीपाका ‘आगो पिएर बाँच्ने’, ‘योवनको बाढी’, ‘राईनी केटी’, ‘थिबोङ थाक्थुङ’ (लिम्बू भाषामा)जस्ता गीत चर्चित छन् । संगीतप्रतिको लगाव र मिहिनेतले गायिका बन्न सफल भएको उनी बताउँछिन् । गायिका दीपा सुहाङसँग एमपी सुब्बाको जम्काभेट :

‘जादू छ’ गीतले कतिको जादू छरिरहेको छ ?
‘जादू छ’ गीत गत शुक्रबारमात्र सार्वजनिक गरेकी हुँ । अहिलेसम्म राम्रै प्रतिक्रिया पाइरहेकी छु । ‘जादू छ’मा युगल स्वरमा डम्बर नेपाली दाईले साथ दिनुभएको छ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
सबै किसिमका गरी ८० भन्दा बढी गीत गाइसकेकी छु । अहिले त गन्न पनि छाडिसकेँ । नयाँ हुँदा मात्र कति गाएँ भनेर संख्या गनिने रहेछ । पूर्वेली लोकगीत, आधुनिकदेखि आफ्नो लिम्बू समुदायको कल्चरल गीत पालामसम्म गाउँदै आएकी छु ।
‘गायिका दीपा सुहाङ’ भनेर चिनाउने गीत कुन हो ?
मेरा थुप्रै गीत छन्, जसले मलाई चिनाएको छ । पछिल्लो समय मलाई चिनाउने गीत ‘आगो पिएर बाँच्ने’ हो । धेरै जनाले त्यो गीत तपाइँले गाएको हो ? भनेर सोध्छन् । मेरो पहिलो रेकर्डिङ गीत ‘स्वरै स्वरको धनी’ हो । उक्त गीत पनि अडियोमा श्रोताले रुचाएका थिए । ‘पूर्वको आवाज गायन प्रतियोगिता’मा टप–५ मा पुगेपछि आयोजकले उक्त गीत तयार गरिदिनुभएको हो । उक्त गीतको भिडियो भने अब ल्याउने तयारीमा छु ।

गीतसंगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
सानोमा रेडियो बढी सुन्थेँ । मेरो घर पाँचथरको सुभाङ । पहाडमा त्यो समयमा बढी रेडियो सुन्थे, सुनिन्थ्यो । रेडियोमा अग्रजका गीत सुन्दासुन्दै गायिका बन्ने इच्छा जाग्यो । त्यसपछि गायिका बन्नकै लागि काठमाडौं आएकी हुँ ।

त्यतिखेरै आफ्नो स्वरले गायिका बन्छुजस्तो लागेको थियो ?
मुख्यकुरो, आत्मविश्वास र मिहिनेत हो । गायिका बन्ने इच्छा जागेपछि जानी–नजानी गुनगुनाउँथे । काठमाडौं आएपछि सिक्दै गएँ र कोसिस गर्दै गएँ । कोसिस गरेपछि सम्भव हुने रहेछ ।

कस्ता गीत बढी गाउनुहन्छ ?
सबै किसिमका गाउँछु । पूर्वेली लोकगीतदेखि चलचित्रसम्मका गीत गाउँदै आएकी छु । जसमा सेन्टिमेल्टदेखि रोमान्टिकसम्ममा छन् । साथै, लिम्बूहरूको पालाम पनि गाएकी छु ।

तपाइँलाई धाननाचको अनुभव छ ?
धान नाचको अनुभव पनि अलिअलि छ । गाउँमा हुँदा धान नाच नाचेकी छु । आफ्नो कला, संस्कृतिलाई माया गर्नुप¥यो नि ।

‘आगो पिएर बाँच्ने’ गीतले तपाइँलाई चर्चामा ल्याएको हो ?
पक्कै पनि, उक्त गीत नारायण रायमाझीको हो । त्यो गीत गाएपछि अरु गीत गाउन प्रस्ताव आउन थाल्यो । उक्त गीतलाई धेरैले मन पराइदिनु भयो । अहिले पनि कतिपयले ‘आगो पिएर’ गीत तपाइँले गाउनुभएको भन्दै सोध्नुहुन्छ ।

‘जादू छ’मा मोडलिङ गर्नुभएको छ । इच्छा मोडलिङतिर पनि हो ?
आफ्नो गीतमा आफैँ मोडलिङ गरौँ भन्ने सोच आएर गरेकी हुँ । मोडलिङ नै गर्छु भन्ने सोच छैन । तैपनि अफर आइहालेमा सोच्न सक्छु । पहिलो प्राथमिकता गायनलाई हो । किनकि, म गायिका हुँ ।

फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
फिल्मका लागि एक पटक अफर आएको पनि हो । तर, म गाउने मान्छे । मेरो क्षेत्र गायन हो भनेर गरिनँ । आगामी दिनमा फिल्मका लागि आयो भने त्यो बेला सोचौँला ।

स्वर र रुपको धनी हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?
मन पराउँछु, माया गर्छु, बिहे गरौँ भन्नेहरू आइरहेका हुन्छन् । तर, म अहिले करिअर बनाउने समयमा छु । मेरो लागि अहिले करिअर ठूलो कुरा हो ।

उमेर त भयो नि । जीवनसाथी कस्तो होस् भन्ने सोच्नुभएको छ ?
धन सम्पतिभन्दा पनि माया गर्ने, एकअर्कालाई बुझ्ने र मेरो पेशालाई सम्मान गर्ने होस् भन्ने लाग्छ । यदि, एकअर्कालाई नै नबुझ्ने भयो भने उल्टै जीन्दगी बर्बाद हुन्छ । त्यसैले जीवनसाथी भनेको जीवनभर साथ दिने हुनुपर्छ ।

गायिका दीपाको पछिल्लो भिडियो ‘जादू छ’ हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्