Logo
Logo

अभिनेता स्मिथले ओस्कर एकेडेमीबाट दिए राजीनामा



काठमाडौं । अमेरिकी अभिनेता विल स्मिथले ओस्कर एकेडेमीबाट राजीनामा दिएका छन् । गत आइतबार आयोजित ओस्कर पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेपछि उनी चरम विवादमा तानिएका थिए ।

‘एकेडेमीको ९४औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो’ उनको राजीनामापछि विज्ञप्तिमा भनेका छन् । एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहने बताएको बीबीसीले उल्लेख गरेका छ ।

अभिनेता विल स्मिथ

अन्तर्राष्ट्रिय समाचारहरुमा जनाएअनुसार एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए ।

त्यसको एक घण्टा नवित्दै उनले ‘किङ रिचर्ड’ नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए ।

‘मैले चोट पु¥याएकाहरूको सूची लामो छ । यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले शुक्रबार भने ।

‘मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ । मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ । म दुःखी छु’ स्मिथको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनले निष्कर्षमा भनेका छन्, ‘परिवर्तनका लागि समय लाग्छ र म अब कहिल्यै पनि हिंसालाई कारणभन्दा अगाडि हुन नदिने कार्य गर्न प्रतिबद्ध छु ।’ एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताएका छन् ।

हाल अमेरिकाको आफ्नो कार्यक्रम ‘इगो डेथ’को सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकहरूले उभिएर सम्मान दर्साएका थिए । रकले यसअघि स्मिथविरुद्ध आपराधिक आरोप नलगाउने निर्णय गरेका विवरणहरू सार्वजनिक भएका थिए ।

यसैबीच बीबीसीका पीटर बोएसले एकेडेमीबाट राजीनामा दिनु असाध्यै ठूलो कुरा भएको बताएका छन् । संस्थाको निमन्त्रणामा मात्र सदस्य बन्न पाइने यो संस्थाको सदस्य बन्नु पनि आफैमा उपलब्धि भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्