Logo
Logo

कोइरालालाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार



दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार–२०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिवार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद रु. २५ हजार छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार– २०७७ कवि प्रोल्लास सिन्धुलीया र २०७८– गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु. सात हजार छ । यस्तै गीतल प्रतिभा पुरस्कार–२०७७ लोकगायक शंकर परियार र २०७८– लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु. पाँच हजार रहेको छ ।

पुरस्कृत स्रष्टाहरुलाई प्राज्ञ सरुभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेशरी विमोचन गरिएको थियो । समालोचक महाप्रसाद हडखले (महेश)ले यस महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्