पाल्पा । स्थानीय तह निर्वाचन घोषणासँगै स्थानीय तहमा दलहरू संयन्त्र बनाएर उम्मेदवार छनोटमा लागेका छन् । यसैक्रममा पाल्पास्थित तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले दाबी गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेतर्फबाट मेयरमा उम्मेदवार अशोक शाही १० हजार ४५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका अजयमान कर्माचार्यले ८ हजार ६७ मत ल्याएर पराजय भोगेका थिए ।
अहिले परिस्थिति फेरिएको छ । नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको छ । समाजवादी पार्टीमा एमालेका स्थापित कार्यकर्ताहरू प्रवेशको लहर चलेको छ । त्यसमाथि माओवादी केन्द्रको समेत कांग्रेसलाई भएको खण्डमा कांग्रेसले भारी मतान्तरले जित्ने हिसाब गरेको छ ।
कांग्रेसले उपमेयर समाजवादी र माओवादी केन्द्रको भागमा छुट्याएको छ भने कांग्रेसले जितेको वडामा कांग्रेस, माओवादीले जितेको वडामा माओवादी र एमालेले जितेको वडामा समाजवादीलाई दिने सम्भावना छ ।
कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार आकांक्षी धेरै भए पनि जित्न सक्ने उम्मेदवारको खोजीमा कांग्रेस नगरकमिटी रहेको स्रोतले बताएको छ ।