Logo
Logo

प्रहरीमा कान्डैकाण्ड




काठमाडौँ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा असफलताले प्रहरी चरम संकटमा छ । फिल्डमा भएको लापरबाहीले नै प्रहरीमाथि समस्या भएको हो । तर, पनि फिल्डमा प्रहरीको व्यवहारमा अझै सुधार भएको छैन । जस्तो कि दुई साताअघि राजधानीकै गौशालामा भयो ।
गौशालाको होटलमा प्रहरी बनेर गएका व्यक्तिहरुले लाखौंं रकम लुटपाट गरे । प्रहरीले होटल सञ्चालकसहित केही व्यक्तिहरुलाई पक्राउ ग¥यो । तर, त्यसपछिको अनुसन्धानमा प्रहरीले यसरी उदासिनता देखायो कि गौशला वृत्तका डिएसपी सुनिल मल्ल कारबाहीमा परेका छन् ।
होटलमा भएको सो लुटपाट गम्भीर प्रकृतिको थियो । घटना नाटकीय पनि । किनकि होटलमा बस्न आएका ग्राहकलाई होटल सञ्चालकले प्रहरी चेकिङमा आउने भएकाले झोला खोल्न लगाएका थिए । संयोगले प्रहरी भनेर आएका व्यक्तिहरुले नै उनीहरुलाई लुटे ।
जसकारण होटल सञ्चालकमाथि प्रहरी शंका भयो र पक्राउ गरेर थुनामा राख्यो । तर, डिएसपी मल्ल बिरामी भएको भन्दै घरतिर लागे । वृत्तका अन्य इन्स्पेक्टरले अनुसन्धानमा चासो दिएनन् । दुई दिनसम्म होटलका सञ्चालकलाई अदालतबाट म्याद समेत नलिई थुनामा राख्ने काम भयो । सोही प्रकरणमा डिएसपी मल्ललाई कारबाही गरिएको छ ।


उता बालाजु वृत्तका डिएसपी चिरञ्जीवी कोइराला आर्थिक लेनदेनमा सक्रिय पाइएपछि उनलाई हटाइएको छ । प्रहरी प्रधान कार्यालयले कोइरालालाई हटाएर बालनरसिंह राणालाई वृत्तमा जिम्मेवारी दिएको छ ।
कोइराला पहिलेदेखि नै पटक–पटक कारबाही भागेका प्रहरी अधिकृत हुन् । पहिला निलम्बनमा समेत परेका थिए । जहाँ गए पनि असुल्ने बानी थियो । बालाजु क्षेत्रमा पनि उनले असुलीको सेटिङ चलाएका थिए । धेरै उजुरी बढेपछि उनलाई हटाइएको स्रोत बताउँछ । राधजानीका अन्य वृत्तमा पनि लेनदेन उस्तै छ । सोह्रखुट्टे वृत्तका डीएसपी गौतम केसीविरुद्ध समेत मुख्यालयमा उजुरी परेको छ । धेरै पैसा मागेको तर, दिन नसकेपछि दुःख दिएको भनेर उजुरी परेको छ ।
उता घुस लिएको प्रमाणित हुँदा पनि सिन्धुलीका एसपी रामेश्वर यादबलाई भने प्रहरी मुख्यालयले संरक्षण दिएको छ । यादवले ठूला सवारी बीपी राजमार्गमा चलाउन दिएर घुस लिएको पुष्टि भएपछि उनलाई कारबाही गर्न सिफारिस भएको थियो । तर, नेताहरुको दबाबमा प्रहरी नेतृत्वले उनलाई हटाउन सकेको छैन ।
उता सशस्त्र प्रहरीमा पनि एक महिला डीएसपी कारबाहीमा परेकी छिन् । डिएसपी यमुना सिंखडा कारबाहीमा परेकी हुन् । उपत्यका बाहिनीमा कार्यरत उनलाई नसिहत दिइएको छ । ड्युटीमा चरम लापरबाही गरेको आरोपमा उनी कारबाहीमा परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्