Logo
Logo
कला

‘तामाङ भाषा र संस्कृति संरक्षणकाे पहल गर्नेछु’



सोलुखुम्बुकी रञ्जना तामाङ स्याङ्बो सानैदेखि ग्ल्यामरसप्रति रुची र चासो राख्थिन् । साथै, आफ्नो समुदायको भाषा, कला र संस्कृतिमा पनि उनको चासो छ । उनै रञ्जना १४औँ ‘मिस तामाङ’ बन्न सफल भइन् । हालै काठमाडौंमा मम्स इन्टरनेशनलद्वारा आयोजित ‘मिस तामाङ-२०२२’ शीर्ष विजेता बनेपछि रञ्जनाले आफूमाथि जिम्मेवारी बढेको महशुस गरेकी छन् । ‘हरेक मानिसको पहिचान भनेको भाषा र संस्कृति हो’ २१ वर्षीया रञ्जना भन्छिन्, ‘मिस तामाङको उपाधिले मलाई जिम्मेवारी बढेको छ । मैले अब आफ्नो समुदायको कला संस्कृतिको क्षेत्रमा केही गर्नैपर्छ ।’ ‘मिस तामाङ’ बन्नुअघिबाटै म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी रञ्जना फिल्मतिर पनि चासो राख्छिन् । कल्चरल फिल्ममा काम गर्ने उनको रुची छ । एमबीए जोइन गर्ने तयारीमा रहेकी रञ्जनाको विजनेश वुमेन बन्ने लक्ष्य छ । ‘मिस तामाङ’ रञ्जना तामाङसँग एमपी सुब्बाको जम्काभेट :

‘मिस तामाङ’को जितेपछि कस्तो महसुस भइरहेको छ ?
खुसी त छु नै । त्यसबाहेक आत्मविश्वास र जिम्मेवारी बढेको छ । मानिसमा सबैभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ भन्ने अहिले महसुस भएको छ ।

तपार्ईँमा थपिएको जिम्मेवारी के हो ?
‘मिस तामाङ’ तामाङ समुदायको कल्चरलाई प्रमोसन गर्ने प्रतियोगिता हो । त्यसैले मैले आफ्नो समुदायका लागि केही गर्नैपर्छ । सबैलाई आफ्नो भेषभूषा, भाषा र कला महत्वपूर्ण छ । मलाई लाग्छ, पछिल्लो वर्षहरूमा तामाङ भाषा र भेषभूषाहरू लोप हुने क्रममा छ । त्यसैले म आफ्नो भाषा र भेषभूषा तथा संस्कृति जर्गेनाको पहल गर्नेछु ।

उपाधि जित्छु नै भनेर ‘मिस तामाङ’मा भाग लिनुभएको थियो ?
जित्छु भनेर भन्दा पनि तामाङ समुदायको कला, संस्कृतिबारे सिक्नलाई भाग लिएकी हुँ किनकि, हाम्रो घरमा ल्होसार मनाइदैन । त्यसैले के कस्तो रहेछ हाम्रो भाषा र भेषभूषा भनेर बुझ्नलाई मिस तामाङमा भाग लिएकी हुँ । तर, सिक्दै जाँदा कन्फिडेन्ट पनि बढ्दै गएको छ । र, उपाधि पाउन पनि सफल भएँ ।

तपाईँले नै ‘मिस तामाङ’को उपाधि जित्नुको कारण के थियो ?
मिहिनेत र अनुशासन । हुन त फाइलनमा हामी १७ जना थियौँ । अरु साथीहरू पनि ट्यालेन्ट थिए । तर, म सानैदेखि नयाँ–नयाँ कुरा सिक्न रुचाउँथे । त्यही स्वभाव र मिहिनेतले गर्दा उपाधि जितेँ जस्तो लाग्छ ।

तपाईँलाई तामाङ भेषभूषा र भाषाबारे कतिको ज्ञान छ ?
भेषभूषाको बारेमा अलिअलि थाहा छ । तामाङ भाषाचाहिँ कम बोल्छु, धेरै बुझ्छु । आगामी दिनमा सिक्दै र सिकाउँदै जानेछु ।

‘मिस तामाङ’ प्रतियोगिताबाट के सिक्नुभयो ?
धेरै कुरा सिकेँ । तामाङ भाषा, भेषाभूषाबारे थप जान्ने अवसर मिल्यो । त्यसबाहेक प्रतिभा सबैसँग हुन्छ । तर, सफलता पाउनका लागि आत्मविश्वास चाहिने रहेछ ।

‘मिस तामाङ’मा पार्टिसिपेन्ट हुनुअघि मोडलिङबारे थाहा थियो ?
सानैदेखि मलाई मोडलिङबारे चासो राख्थेँ । र, मिस तामाङमा सहभागी हुनुअघि मैले केही म्युजिक भिडियोहरूमा काम गरिसकेकी थिएँ ।

फिल्मतिर काम गर्ने रुची छ कि छैन ?
राम्रो ब्यानरको फिल्ममा अफर आयो भने काम गर्छु । काम गरेपछि फिडब्याक आउनुपर्छ । त्यसैले फिडब्याक आउने फिल्ममा अवश्य काम गर्छु । म मिस तामाङ भएको नाताले कल्चरल फिल्ममा काम गर्ने इच्छा छ । तामाङ मात्र नभएर कुनै पनि समुदायको संस्कृति समेट्ने फिल्म मेरो पहिलो प्राथमिकता हो ।

‘मिस तामाङ’ भइसकेपछि कस्ता प्रतिक्रिया आइरहेको छ ?
सुरुमा डर लागेको थियो । यसअघिका कतिपय मिस तामाङहरू कन्ट्रोभर्सी भएको थियो । तर, मेरो पालामा त्यस्तो कन्ट्रोभर्सी केही भएन । अहिलेसम्म राम्रो प्रतिक्रिया आइरहेको छ ।

‘मिस तामाङ’ भइसकेपछि ‘मिस नेपाल’ बनेका उदाहरण पनि छ । तपाईँलाई ‘मिस नेपाल’मा जाने सोच छैन ?
अहिलेलाई छैन । फलोचाहिँ गरिरहेकी छु । त्यसैले पछि मिस नेपालमा जान पनि सक्छु ।

पढाइचाहिँ कहाँ पुग्यो ?
भर्खरै ब्याचलर सकेँ । ग्राजुएट पनि भइसकेँ । अब एमबीए मास्टर जोइन गर्ने तयारी गर्दैछु ।

तपाईँको भावी लक्ष्य के हो ?
मेरो लक्ष्य विजनेस वुमेन बन्ने हो । हाम्रो देश हरेक कुरामा परनिर्भर छ । त्यसैले आफ्नो तर्फबाट कतिसम्म हुन्छ, देशलाई आत्मनिर्भर बनाउने मेरो प्रयास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्