Logo
Logo

गृह मन्त्रालयमा महिला प्रहरीको दुरुपयोग



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चलाएको अभियानमध्ये एक घरेलु कामदारका रुपमा कार्यरत सुरक्षाकर्मीलाई फिर्ता बोलाउने । जस अन्र्तगत केही प्रहरी अधिकारीको घरमा कार्यरतलाई फिर्ता बोलाउने काम भयो । तर, पहुँचवाला व्यक्तिको हकमा यो लागू भएन ।
अझ अचम्म त के छ भने गृह मन्त्रालय आफैँले पनि प्रहरी कर्मचारीको दुरुपयोग गरेको छ । गृहमा सात जना महिला प्रहरीलाई चिया पकाउने तथा अन्य काममा लगाइएको छ ।


जबकि गृहमा ५० जना कार्यालय सहयोगीको दरबन्दी छ । उनीहरुको मन्त्रालयमा काम छैन । यस्तो अवस्थामा प्रहरी जनशक्तिको समेत दुरुपयोग भइरहेको छ । उदाहरणका लागि प्रहरी शाखामा मात्र दुई जना महिला प्रहरी परिचरहरु कार्यरत छन् । यसबारे गृहमन्त्रीलाई थाहा नहुन सक्छ । तर कर्मचारीहरुलाई राम्रोसँग थाहा छ । मन्त्रीले प्रहरी दुरुपयोगविरुद्ध अभियान चलाउँदा पनि कर्मचारीले भने किन प्रहरी जनशक्तिको दुरुपयोग गरिरहेका छन् ? यो गम्भीर प्रश्न छ ।
परिचर मात्र होइन प्रहरीका चालकहरुसमेत गृहमा दुरुपयोग भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३८ जना चालकलाई गृहमा राखेर नियमविपरीत उनीहरुलाई काममा लगाइएको छ । उनीहरुमध्ये धेरैले मन्त्रालयका उपसचिवहरुको गाडी चलाउने गरेका छन् । जबकि उपसचिवलाई गाडीको सुविधा दिन नमिल्ने उल्लेख छ । तर, गृहका २२ जना उपसचिवले गाडी र प्रहरी चालकको दुरुपयोग गर्दै आएका छन् । अन्य निकायलाई नियम पालनामा अनुगमन र कारबाही गर्ने गृह मन्त्रालयमै यस्तो विकृति भए पनि मातहतका निकायको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्