जनकपुरधाम । चुनावी तालमेलबारे छलफल गर्न आज बस्ने भनिएको सत्तासठबन्धनको बैठक बस्न सकेन । एक साताअघि मधेस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधामस्थित नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा बसेको बैठक चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, आज पनि बैठक बस्न नसकेको हो ।

बैठकको अगुवाई गरेका नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवले पहलकदमी नगर्दा बैठक बस्न नसकेको बताइएको छ । सत्ता गठबन्धनका घटकमध्ये दल नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले विभिन्न जिल्लामा गठबन्धन दलबीच बैठक हुन बाँकी रहेकाले आइतबार भनिएको बैठक बस्न नसकेको जानकारी दिए ।
उनका अनुसार आठ वटै जिल्लामा बस्नुपर्ने मध्ये अधिकांश जिल्लामा गठबन्धनको बैठक बस्न सकेको छैन । धनुषा र महोत्तरीलगायतका केही जिल्लामा जिल्लास्तरीय गठबन्धनको बैठक बसेपनि पर्सा, बारा, सप्तरीलगायतका जिल्लामा गठबन्धनको बैठक बस्न नसकेको हो ।
जिल्लास्तरमै गठबन्धनको बैठक बस्न नसकेपछि प्रदेशस्तरको गठबन्धन बैठक अन्योलमा परेको छ । बैठक बस्न नसक्नुमा कांग्रेसी दोषी रहेको गठबन्धनका नेताहरु बताउँछन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बैठकका लागि कांग्रेसले अहिलेसम्म अन्य दलसँग छलफल नगरेको बताए । उनले बैठक डाक्ने जिम्मा कांग्रेसको भएको बताए ।












