काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।
आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो आफ्नो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने बताए ।

उनले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको समेत आरोप लगाए । ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो’ उनले भने, ‘राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो ।’
सरकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको उनको भनाइ छ । मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।
‘यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिँगो प्रणालीमाथिको आक्रमण हो’ उनले भने, ‘सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ ।’ गभर्नरमाथिको कारबाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिन उनले सरकारलाई चेतावनी दिए ।












