काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले ‘सिरानीमुनिको पैसा झिक्छु’ भनेर मुद्रा निर्मलीकरणको हल्ला चलाएको आरोप लगाएका छन् । उनले अर्थमन्त्रीले हल्का फुक्ला कुरा गरेर बजार आतंकित पारेको समेत आरोप लगाए ।

आइतबार एमालेले देशको पछिल्लो अर्थतन्त्रको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले हल्ला गरेर सरकारले व्यवसायी र जनतालाई नै त्रसित पार्ने बताए ।
‘अर्थमन्त्रीले सिरानी मुनिको पैसा झिक्छु भन्नुभएको छ । त्यो भनेको के हो ?’ उनले भने, ‘सिरानी मुनी पैसा छ भने झिक्नुप¥यो । तर बजारमा अफवाह फैलाएर हुन्न ।’
खतिवडाले गभर्नरमाथिको कारबाही सरकारको असफलता ढाक्ने षडयन्त्र भन्दै अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय गरेको आरोप लगाए ।
उनले पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकार भागबण्डामा रमाइरहेको तर बिग्रँदो आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको समेत आरोप लगाए । तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरमाथि गलत कदम चालेको उनको भनाइ छ ।
खतिवडाले भने, ‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ भन्नेतर्फ सरकारले सोच्न सकेको छैन ।’












