Logo
Logo

गठबन्धनले तालमेलका लागि मोडालिटी बनाउनै सकेन


12.7k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब एक महिना मात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले भने उम्मेदवार छान्न नै सकेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपकपा एमालेले धमाधम उम्मेदवार छानिरहेको छ । कतिपय स्थानीय तहमा उम्मेदवार छनोट गरेर प्रचार–प्रसार नै थालिसक्यो । तर, सत्तारुढ दल भने अझै अन्योलमा छन् । भागबन्डा नमिल्दा गठबन्धन अन्योलमा परेको हो ।

स्थानीय तह निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने सैद्धान्तिक सहमति गरेका सत्तारुढ दलले तालमेलको बोडालिटी बनाउनै नसक्दा उम्मेदवार छान्न ढिलो भएको हो ।

सत्तारुढ दलभित्र नेपाली कांग्रेसका अधिकांश नेता सकभर तालमेल नगरौं भन्ने पक्षमा छन् । तर, प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवा भने बलियो रुपमा तालमेलकै पक्षमा उभिएका छन् । सभापति नै तालमेलको पक्षमा उभिएपछि विपक्षमा रहेका नेता लत्रिएरै भए पनि तालमेलमै जान तयार भइसकेका छन् । अन्य दल त ‘तालमेल नगरी सम्भव छैन’ भन्ने पक्षमै छन् । तर, पनि गठबन्धका दलले उम्मेदवार छान्न नसकेका हुन् ।

मुख्यगरी देशका ६ महानगर कसले पाउने भन्नेबारे गठबन्धनभित्र अझै सहमति जुट्न सकेको छैन । सैद्धान्तिक रुपमा अघिल्लो निर्वाचनमा जितेको महानगर सम्बन्धित पार्टीले नै लिने र एमालेले जितेका ठाउँमा विगतमा महानगर नजितेका पार्टीले पाउने सहमति भएको छ । तर, केन्द्रीय स्तरमा भएको सैद्धान्तिक सहमित स्थानीय स्तरमा कार्यन्वयन नहुने अवस्था बनेपछि गठबन्धनका दल अन्योलमा परेका हुन् ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रले पाएको भरतपुर महानगरमा नेपाली कांग्रेसको बलियो दावेदारी रहेको छ । मेयर रेणु दाहालले निक्कै राम्रो काम गरेको र कतिपय काम पूरा नभएकाले पुनः एक कार्यकाल काम गर्न पाउनुपर्ने माओवादीको अडान रहेको छ ।

त्यसैगरी, विरगञ्ज र विराटनगर महानगरमा जनता समाजवादी पार्टीले बलियो दावी गरिरहेको छ । यी दुवै महानगरमा कांग्रेसको पनि उत्तिकै दावी छ । त्यसैगरी काठमाडौ, भक्तपुर, ललितपुर र पोखरा महानगरमा पनि कांग्रेस र एकीकृत समाजवादीले दावी गरिरहेका छन् ।

गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चा बाहेक सबै दलले प्रायः सबै महानगरमा दावी गरेका छन् । तर, यस विषयमा गठबन्धनभित्र मिहिन रुपमा छलफल हुन सकेको छैन । गठबन्धनबीच तालमेलको मोडालिटी तय गर्ने सहमति भइसकेको छ । तर, मोडालिटी भने तय भएको छैन ।

गठबन्धनले तालमेलको मोडालिटी लगायत विषय टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति समेत गठन गरेको छ । तर, उक्त समितिले अझै पनि काम पूरा गर्न सकेको छैन । तालमेलको मोडालिटी नै तय नभएका कारण कुन–कुन स्थानीय तह कसले पाउने भन्ने अन्योल कायम छ ।

तालमेलका लागि मोडालिटी तय नभए पनि पाँचै दलले आन्तरिक रुपमा उम्मेदवार भने तय गरेका छन् । कांग्रेसले त उम्मेदवार छानिसके पनि घोषणा नगर्न भनेको छ । माओवादीले आन्तरिक रुपमा उम्मेदवार छानिसकेको छ । एकीकृत समाजवादीले सबै स्थानीय कमिटीलाई उम्मेदवार सिफारिस गर्न भनिसकेको छ । जनता समाजवादी पार्टीले भने उम्मेदवारबारे ठोस कदम चालेको छैन ।

यसैबीच, रामचन्द्र पौडेल नेतृत्वको समितिले स्थानीय तहबाट आएका प्रतिवेदनहरुमाथि छलफल गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा आएका प्रतिवेदनहरुमाथि छलफल भएको हो । छलफल भएता पनि निर्णय भने भएन ।

गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव संकलन गरी शीर्ष नेताहरुलाई बुझाउने समति भने भएको छ ।

प्रतिक्रिया दिनुहोस्