Logo
Logo

सत्तासाझेदार दलले पालिकास्तरमा सुझाव संकलन गर्ने


756
Shares

दमौली । स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव संकलन गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतवार बसेको बैठकले दशवटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव संकलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । “गठबन्धनलाई बलियो बनाउन पालिकास्तरीय सुझाव संकलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ”, उनले भने, “पालिकास्तरमा बैठक राखेर सुझाव संकलन गर्छौ ।”

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्कीलगायतको सहभागिता थियो ।

यसैबीच, स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी म्याग्दे समितिले उम्मेदवार सिफारिस गरेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा समितिमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भएका छन् । यस्तै, वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्