रौतहट । राष्ट्रपति विद्यादेवि भण्डारीले मधेशमा जरो गाडेको दाइजो प्रथालाई जरैदेखि उखेल्न शिक्षाको भूमिका महत्वपूर्ण भएको बताएकी छन् । आइतवार रौतहटको मध्यभाग माधव नारायण नगरपालिका–३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गदै उनले यस्तो बताएकी हुन् ।

दाइजो प्रथा अन्त्य गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै राष्ट्रपति भण्डारीले शिक्षामा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन् । नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनमा अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको उनको भनाइ थियो । सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदरस्वरुप उनको नाममा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनले बताइन् ।
मधेश प्रदेश अन्नको भण्डार भएकाले यहाँ उत्पादीत कृषिजन्य उत्पादनहरु निर्यात गरेर आम्दानी गर्न सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि स्वर्गीय सिंहले संवैधानिक, नैतिक र अहिंसक जागरणबाट जन–जनमा चेतना प्रवाह गरेको बताइन् । राष्ट्रपति भण्डारीले चुरे संरक्षण कार्यक्रमलाई पनि अझ प्रभावकारी रुपमा अघि बढाउन स्वर्गीय सिंहको ९७ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी हुन् ।
अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री डा.डिम्पलकुमारी झाले आफ्नो सपना साकार भएको प्रतिक्रिया दिएकी छन् । कार्यक्रममा पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. १ का संघीय सांसद अनिल झाले अस्पताल बनाएर आफूले राजनीति नगर्ने बताएका छन् । अस्पताल निर्माण सेवा भएको उनको धारणा थियो ।
सो अवसरमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र महतोलगायतले स्वर्गीय गजेन्द्रनारायण सिंहको स्मरण गरेका थिए ।












