काठमाडौं । सत्तासाझेदार पाँच दलको स्थानीय तह निर्वाचनबारे तालमेलको मोडालिटी भोलि टुंगो लाग्ने भएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तालमेल सम्बन्धी मोडालिटी भोलि बस्ने बैठकबाट टुंगिने भएको हो । पाँच दलीय गठबन्धनको आज बसेको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रुपमा अपील गरेको छ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि अपरान्ह् ४ बजे बस्ने बैठकबाट मोडालिटीको विषय टुंग्याइने बताए ।
गठबन्धनमा मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति भने जुट्न सकेको छैन । यसअघि कांग्रेस र माओवादीले जितेका स्थान उनीहरुलाई नै छोड्दै एमालेले जितेका स्थानमा भागबण्डा गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीले असहमति प्रकट गरेको नेताहरु बताउँछन् ।












