Logo
Logo

डिल्लीराम घिमिरेले रुँदै छाडे एमाले


22.3k
Shares

झापा । नेकपा एमालेले नगरप्रमुख पदमा उम्मेदवार सिफारिस नगरेपछि एक जिल्लास्तरीय नेताले पार्टी परित्याग गरेका छन् । पार्टीले नगरप्रमुख पदमा उम्मेदवार सिफारीस नगर्दा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका हुन् ।

सहकर्मीहरुबाट आफू पटक–पटक अन्यायमा परेको भन्दै उनले अन्याय सहेर बस्नुभन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर पार्टी छाडेको बताएका छन् । ३१ वर्षअघि पार्टीको सदस्य पाएर निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरे पनि पार्टीका केही नेताले आफ्नो अवमूल्यन गरेको नेता घिमिरेले पत्रकार सम्मेलन गरेर बताए । “मलाई पटक–पटक अवसरबाट बञ्चित गर्दै घेराबन्दीमा पार्ने काम भयो” पत्रकार सम्मेलनमा आँसु खसाल्दै उनले भने, “मलाई पार्टीका नेताहरुले रुवाउँदै निष्काशन गरे, म आफैँ निस्किएको होइन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।”

पार्टीमा जीवन बिताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वाभाविक भएको भन्दै नेता घिमिरेले केहीलाई थपि–थपि जिम्मेवारी दिने र केहीलाई अवसरबाट बञ्चित गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको बताए । पत्रकार सम्मेलनमा भावुक मुद्रामा प्रस्तुत भएका उनले आफ्नो आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । “मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै–रुँदै बाहिरिन बाध्य पारे ।” पत्रकार सम्मेलनमा एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र वामपन्थीका रुपमा बस्ने र तत्काल अरु पार्टीमा नजानेसमेत बताए । ६५ वर्षीय नेता घिमिरेले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्