काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र तिनका सबै छ हजार ७४३ वडामा उत्साहका साथ व्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
अभियानका उपलब्धिबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले अभियानका उद्देश्य पूरा भएको बताए । पार्टीले अभियान सञ्चालनका क्रममा ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो ।
अभियानको क्रममा कांग्रेसका हरेक तहका सङ्गठन परिचालित भएको उल्लेख गर्दै उहाँले पार्टीका सबै तहका कार्य समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्य सक्रियरुपमा परिचालित भएको उनले जानकारी दिए ।
अभियानकै क्रममा टोल टोलमा समिति गठन भएको बताउँदै प्रवक्ता डा महतले वडा र टोलका साथीहरूको नेतृत्वमा देशभरका लाखौँ सदस्य परिचालित हुनु यसको सुन्दर पक्ष भएको उल्लेख गरे ।
स्थानीय निर्वाचनको माहोल बनाउन अभियान अत्यन्त सफल भएको दाबी गर्दै प्रवक्ता महतले कांग्रेसको १४औँ महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउँदै अभियानअन्तर्गत सबै तहका नेता कार्यकर्ता मतदाताको घरघरमा पुगेको जानकारी दिए । पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गराउन अभियान सार्थक भएको उनको भनाइ थियो ।
कांग्रेसको नेतृत्वमा रहेको सरकार र स्थानीय सरकारले गरेका कामको बारेमा स्थानीय नागरिकलाई विस्तारमा जानकारी दिने काम अभियानअन्तर्गत भएको छ । संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन अभियान सफल भएको कांग्रेसको भनाइ छ ।
‘सबैभन्दा लामो इतिहास भएको र प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासमा समर्पित रहँदै आएको कांग्रेसबाट मात्रै देशको लोकतन्त्र र संविधान सुरक्षित रहन सक्छ । कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो भन्ने सन्देश जनताबीच पु¥याउन यो अभियान सफल छ’, उनले भने, ।
एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न यो अभियान सफल भएको जानकारी दिँदै उहाँले अभियानले हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर ल्याएको दाबी गरे ।
कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातामा उत्साहको सञ्चार भएको छ । तटस्थ देखिएका नागरिकमा पनि ‘देशका सबै राजनीतिक दलले र विदेशले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी कांग्रेस नै रहेछ’ भन्ने सन्देश पुगेको उनले उल्लेख गरे । अभियानका क्रममा पार्टीको प्रदेश, जिल्ला र पालिका तहमा पार्टीका प्रशिक्षण सम्पन्न भएका छन् ।














