काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे उक्त समितिको बैठक बस्न लागेको कांग्रेस स्रोतले जनाएको छ । सो बैठकमा स्थानीय तह निर्वाचन– २०७९ को घोषणापत्र सम्बन्धी एजेण्डा मुख्य रहने र, त्यस सम्बन्धमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने जनाइएको छ । कांग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन ।
चैत ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन कांग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको समय भएकाले संसदीय समिति गठन गर्नैपर्ने बाध्यतामा कांग्रेस छ ।
त्यस्तै, फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियोे । फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनीत गरिएपनि अन्य भ्रातृ संस्थामा नेतृत्वसमेत चयन हुन सकेको छैन । सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।














