काठमाडौं । छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य सो आरोपमा पक्राउ परेका हुन् ।
शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप उनीमाथि लागेको छ । आचार्यलाई मंगलवार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले उनलाई मंगलवार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घटनालगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरी टोलीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालका अनुसार सो घटनाका सम्बन्धमा अनुसन्धान जारी छ । अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामका अनुसार शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य दुव्र्यवहार गर्दै आएकोमा मंगलवार दुई जना छात्रालाई सोही प्रकृतिको दुव्र्यवहार गरेको सूचना पाएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।














