Logo
Logo

‘एमालेसँग गठबन्धन नहुने निश्चित भइसक्यो’


डा. धवलशमशेर राणा, महामन्त्री, राप्रपा


काठमाडौं । नेकपा (एमाले)बाट राजनीतिक सुरु गरेका डा. धवलशमशेर राणा हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री छन् । नेकपा (एमाले)ले गणतन्त्रमा जाने निर्णय गरेपछि राणा पार्टी परित्याग गरेर राप्रपामा लागेका हुन् । वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाको सदस्यता लिएका राणा हाल नेपालगञ्ज उपमहानगरपालिकाको मेयर छन् ।

वि.सं. २०५४ सालमा एमालेबाट नेपालगञ्जको मेयरमा जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा राणा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । अब भने राणा प्रतिनिधि सभा निर्वाचनमा उठ्ने तयारीमा रहेका छन् । राणाले केही दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग चुनावी गठबन्धनको विषयमा समेत छलफल गरेका थिए । उनै राणासँग स्थानीय निर्वाचन, एमाले अध्यक्ष ओलीसँग भएको ‘गोप्य’ छलफल र गठबन्धनको सम्भावनाबारे दृष्टिले गरेको कुराकानी प्रस्तुत छ :

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । निर्वाचनमा राप्रपाले कस्तो रणनीति बनाउँदै छ ?
हामी स्थानीय तहको निर्वाचनमा ७५३ वटै तहमा उम्मेदवारी दिने योजना बनाइरहेका छौँ । निर्वाचनलाई कसरी राप्रपाको पक्षमा पार्ने भन्ने हिसाबले हामी अगाडि बढेका छौँ । राप्रपा मजबुद वैकल्पिक शक्तिका रुपमा उदाएको छ । त्यसको असर आगामी निर्वाचनमा देखिने छ ।

पाँचदलीय सत्तारुढ गठबन्धन साझा उम्मेदवार लिएर चुनावमा जाँदै छ । राप्रपा एक्लै निर्वाचन लड्छ कि गठबन्धन बनाएर जाने तयारी छ ?
अहिले केन्द्रबाट गठबन्धन गरेर जाने वा नजाने भन्ने निर्णय भइसकेको छैन । गठबन्धन गर्ने कि एक्लै निर्वाचन लड्ने भन्ने निर्णय गर्ने अधिकार हामी जिल्ला समितिलाई दिन्छौँ । जिल्लाले आवश्यकताको आधारमा गठबन्धन गरेर जान सक्छ । जहाँ मिल्न सकिन्छ, त्यहाँ मिलेर निर्वाचनमा जानुपर्छ । मिल्न नसक्ने ठाउँमा राप्रपा एक्लै निर्वाचन लड्छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी गठबन्धन गर्नेबारे तपाईंले ‘गोप्य’ छलफल गर्नुभएको होइन ?
एमाले अध्यक्ष केपी ओलीसँग चुनावी गठबन्धनबारे मेरो छलफल भएको हो । तर, छलफल सार्थक बनेको छैन । उहाँ (ओली)ले ‘साथीहरुसँग सल्लाह गरेर भन्छु’ भन्नुभएको थियो । तर, आजको मितिसम्म ओलीले जवाफ दिनुभएको छैन । त्यसकारण हामीले पनि एमालेसँग चुनावी गठबन्धनबारे चासो दिएका छैनौँ । स्थानीय आवश्यकता अनुसार तालमेल गर्न सकिने विकल्पमा हामी खुला छौँ ।

ओलीसँग तपाईंले के प्रस्ताव राख्नुभएको थियो ?
एकअर्को दलले स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष लिने गरी मिलेर जाऔँ भन्ने प्रस्ताव राखेको थिएँ । तपाईंहरूले पनि थोरै भोटले जित्नुहुन्छ, हामी पनि जितौँला । स्थानीय निर्वाचन विकासको लडाइँ हो, विकासका लागि सहकार्य गरौँ भन्ने मेरो प्रस्ताव थियो । तर, उहाँले बुझ्नुभएन । उहाँले ‘प्रदेश र संघमा पनि मिल्ने गरी गृहकार्य गरौँ’ भन्नुभयो । उहाँको कुरो संघीय निर्वाचनसम्मै मिलेर जानुपर्छ भन्ने थियो । त्यसपछि कुरो अगाडि बढेको छैन ।

राप्रपाका पूर्वअध्यक्ष तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले त सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा नै गर्नुभयो । थापाकै कारण तपाईंहरूबीच दोस्रो चरणमा कुराकानी नभएको हो कि ?
त्यो पनि हुन सक्छ । राजनीतिमा अनेक सम्भावनालाई नकार्न सकिँदैन । अब कमल थापा सूर्य चिन्हबाट चुनाव लड्ने, भोलि एमाले हुने भएपछि ओलीको प्राथमिकता थापा नै हुने भए । किनकि, हामी त सूर्य चिन्हबाट चुनाव लड्न सक्दैनौँ । ओलीलाई कमल थापाको मोह होला । हामीलाई छैन । निर्वाचनमा पराजित भएपछि कमल थापाले पार्टी फोडेर हिडेँ । उनको संगठन नै छैन । कुनै जिल्लामा केही नै छैन, उम्मेदवार पनि छैनन् । तरपनि ओलीलाई कमल थापाप्रति अस्वभाविक मोह लाग्छ भने हामीलाई भन्नु केही छैन । हरेक दल निर्णय गर्न स्वतन्त्र छन् ।

एमालेसँगै गठबन्धनको प्रस्ताव राख्नुको खास कारण केही छ ?
सत्तारुढ पाँच दलले चुनावी गठबन्धन गरेपछि अर्को गठबन्धन पनि आवश्यक छ भन्ने लागेर एमालेसँग मिलेर जान प्रस्ताव राखेको हुँ । तर, एमालेबाट ठोस जवाफ नआएपछि राप्रपा अब करिब–करिब एक्लै निर्वाचनमा जाने निश्चित भएको छ । कार्यकर्ताबाट पनि एक्लै निर्वाचनमा जानुपर्छ भन्ने दबाब आइरहेको छ । देशको सिस्टमलाई नै विस्थापित गर्न खोजेका ठूला भनिएका पार्टीहरूसँग गठबन्धन गर्नुहुँदैन भन्ने सुझाव कार्यकर्ताको रहेको छ । राम्रो सन्देश जाने हिसावले पार्टीले निर्णय लिनुपर्छ भन्ने जोड कार्यकर्ताको छ ।

अनि एमालेसँग किन गठबन्धनको प्रस्ताव राख्नुभएको त ?
स्थानीय तहको निर्वाचनमा आ–आफ्नो एजेन्डा सबैको हुन्छ । मेरो वडामा चार वटा पार्टी छन् । ती सबैका आ–आफ्नो एजेन्डा छन् । तर, विकासको कुरामा हामी सबै मिलेका छौँ । प्रगतिको लागि, स्थानीय विकासका लागि हाम्रो सहकार्य भएको छ । अहिले स्थानीय तहको दुई तिहाई सिटमा हामीले जितेपनि हिन्दुराष्ट्र ल्याउन सक्दैनौँ । राजालाई फर्काउन सक्दैनौँ । त्यसका लागि त संसदीय निर्वाचनमा जित्नुपर्छ ।

संसदीय निर्वाचनको आधार त हो नि स्थानीय तहको निर्वाचन ?
स्थानीय तहमा जनताले राम्रो मान्छे खोज्छन् । विकास गर्न सक्ने मान्छेलाई रोज्छन । जनतासँग घुलमिल भएको, स्थानीय समस्यालाई बुझेको र समस्या समाधानमा क्रियाशील भएको व्यक्तिलाई नै जनताले पत्याउँछन् ।

अहिले राप्रपाको माहोल कस्तो छ ?
राप्रपाप्रति जनताको आशा छ । त्यही कारण हाम्रा प्रत्येक कार्यक्रममा जनताको उल्लेख्य सहभागिता देख्न सकिन्छ । अहिले राप्रपाको पक्षमा जनलहर नै आएको छ । हाम्रो आमसभा हेर्नुस त ? कति मान्छे पार्टी प्रवेश गरिरहेका छन् ? त्यो पनि हेर्नुस । अब भोट कति आउँछ भन्ने चाहिँ हेर्न बाँकी छ । लामो समयपछि राप्रपाको पक्षमा माहोल आएको छ । यस अवसरको सदुपयोग गर्न हामी एक भएर निर्वाचनमा होमिएका छौँ । यसले राम्रो परिणाम दिन्छ भन्ने हामीलाई विश्वास छ ।

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको माहोल बनेको हो ?
एकदम । उहाँ (राजेन्द्र लिङ्देन) अध्यक्ष हुने र कमल थापालाई विस्थापित गर्ने काम भएपछि राप्रपाको पक्षमा माहोल बनेको छ । अहिले एकदम राम्रो ढंगले पार्टी चलेको छ । लिङ्देन अध्यक्ष हुने र थापा बाहिरिने दुबै कुराले हामीलाई फाइदा भएको छ ।

पूर्वअध्यक्षले नयाँ पार्टी खोलेर जाँदा कसरी फाइदा हुन्छ र ?
उहाँ (कमल थापा)को जनमानसमा के स्थिति छ ? तपाईलाई मैले भनिरहनु पर्दैन । त्यही कारण उहाँ बाहिरिएपछि राप्रपामा उत्साहजक माहोल सिर्जना भएको छ । हामी यो जनविश्वासलाई गुम्न दिँदैनौँ ।

राजनीतिमा अनेक सम्भावनालाई नकार्न सकिँदैन । अब कमल थापा सूर्य चिन्हबाट चुनाव लड्ने, भोलि एमाले हुने भएपछि ओलीको प्राथमिकता थापा नै हुने भए । किनकि, हामी त सूर्य चिन्हबाट चुनाव लड्न सक्दैनौँ । ओलीलाई कमल थापाको मोह होला । हामीलाई छैन । निर्वाचनमा पराजित भएपछि कमल थापाले पार्टी फोडेर हिडेँ । उनको संगठन नै छैन । कुनै जिल्लामा केही नै छैन, उम्मेदवार पनि छैनन् । तरपनि ओलीलाई कमल थापाप्रति अस्वभाविक मोह लाग्छ भने हामीलाई भन्नु केही छैन ।

कार्यकर्ता त कमल थापाको पछि पनि लागेका छन् । राप्रपाबाट जितेका वडा सदस्य नै थापाको पार्टीमा गए नि ?
राप्रपाबाट टिकट नपाउने सुनिश्चित भएपछि केही अवसरवादी गए होलान । हामीले उनीहरू भन्दा उत्कृष्टलाई टिकट दिनुपर्ने भएको थियो । राप्रपाले टिकट दिएको भए उनीहरू जाँदैन थिए । उनीहरू गएकोमा मेरो कुनै आपत्ति छैन । कमल थापासँग चुनावै नलड्ने कार्यकर्ता छन् । जनताबाट ढाटा भएका व्यक्ति मात्रै थापासँग छन् । कामकाजी कार्यकर्ता सबै हामीसँगै छन् ।

यसअघि राप्रपाले सही नेतृत्व नपाएकै हो त ?
अब तपाईलाई के भनौँ । सबै कुरा छर्लंगै छ ।

राप्रपाको चुनावी एजेन्डा के ?
स्थानीय तह निर्वाचनमा जनताले भोट हाल्ने विकास र परिवर्तनका लागि हो । सुशासनका लागि हो । हामीले विकास, परिवर्तन र सुशासनको एजेन्डा अघि सारेका छौँ । विकृति, विसंगति र भ्रष्टाचार निर्मूल पार्ने हाम्रो अठोट छ । विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गरेर देशमा थिति बसाल्नु छ । अहिले अधिकांश स्थानीय तहमा व्यापक मात्रामा भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचारको अन्त्य र देशको उन्नती, प्रगतिको लागि हाम्रा उम्मेवार चुनावी मैदानमा रहने छन् । राप्रपाले जितेका गाउँपालिका र नगरपालिकाको प्रगति र अन्य पार्टीले जितेका स्थानीय तहको प्रगति हेर्दा नै सबै कुरा स्पष्ट हुन्छ ।

दुई-दुई पटक मेयर जित्नुभयो । अब किन मेयरका नउठ्ने निर्णयमा पुग्नुभयो ?
म २०५४ र २०७४ सालमा नेपालगञ्जको मेयरमा निर्वाचित भएँ । नगरभित्रका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसकेका छन् । मेयर हुँदा नेपालगञ्जको विकासमा धेरै काम गरिसकेँ । अब संघमा गएर देशको विकास गर्छु । मेरो शहर बनिसकेकाले अब अनुगमन गर्ने र व्यवस्थापन मिलाउने मात्र हो । व्यवस्थापन मिलाउनकै लागि मात्र मेयर बनिरहनुपर्ने कारण छैन । देश बनाउने एजेन्डामा काम गर्न संसदीय निर्वाचन लड्छु । जनताले निर्वाचित गराए भने देश बनाउन काठमाडौँ आउँछु ।

नेपालगञ्जमा तपाईँको विरासत अब कसले लिन्छ त ?
स्थानीय निर्वाचनमा हाम्रो पनि उम्मेदवार हुन्छ, अरुको पनि उम्मेदवार हुन्छ । हामी जित्ने प्रयास गर्छौँ । हेरौँ के हुन्छ । भविश्यको कुरा अहिले नै गरेर केही अर्थ हुँदैन ।

राप्रपाले कति सिट जित्छ ?
आगामी निर्वाचन हाम्रो लागि धेरै राम्रो हुन्छ । तर, मैले यति, उति भन्दा नसुहाउँदो लाग्न सक्छ । यति भनौँ, हामी धेरैभन्दा धेरै सिट जित्न लाग्ने छौँ ।

कमल थापासहितको राप्रपा बलियो हुन्थ्यो होला नि ?
कमल थापालाई बोकेर हिड्दा के हुन्थ्यो तपाईँ पनि विचार गर्नुस । थापाको कार्यकालमा कार्यकर्ताका निराशा आउने काम मात्र भयो । एजेन्डामै स्पष्ट नभएपछि जनताबीच जान पनि समस्या थियो । भनाइ र गराइमा फरक पर्नुहुँदैन । भन्ने बेलामा एकथरी भन्ने अनि अर्केैथरी गरेपछि राजनीतिप्रति नै वितृष्णा जागेको अवस्था छ । हामी जे भन्छौँ, त्यही गर्छौँ ।

भनेपछि अलग हुँदा नै राप्रपालाई फाइदा भएको छ ?
एकदम । उहाँ हामीसँग छुट्टिएपछि हामीलाई फलिफाप भएको हो । कमल थापालाई जनताले आज के भन्छन सबैलाई थाहा छ । बरु, थापा चुप बसेको भए राम्रो हुन्थ्यो होला । थापा पार्टी खोलेर किन लागे भन्ने त सबैलाई थाहा भइसक्यो नि । अहिले मैले नै किन भन्नुपरो र ।

थापा त एमालेको भोटले मकवानपुरबाट संसदीय निर्वाचन जित्ने सपना देखिरहेका छन् नि ?
निर्वाचन परिणाम के आउँछ हेर्नुहोला । मैले अहिले भनिरहनु पर्दैन ।

स्थानीय निर्वाचनलगत्तै प्रदेश र संघको निर्वाचन पनि हुँदै छ । तपाईँहरूको तयारी के छ ?
अहिले प्रदेश र संघको निर्वाचन भएको भए राप्रपा पहिलो वा दोस्रो शक्ति हुने अवस्था थियो । जनताको उत्साह हेर्दा हामी शक्तिशाली हुनेमा दुविधा नै छैन । दुर्भाग्य, अहिले संघको होइन, स्थानीय तहको निर्वाचन हुँदै छ । अब संघको निर्वाचन हुने बेलासम्म हामी पहिलो पार्टी हुने प्रयासमा रहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्