रोल्पा । नेपाली कांग्रेस रोल्पाले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने जनाएको छ । एक महिने ‘घरघर जाऔँ कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जनाएका हुन् ।

आगामी ३० वैशाख गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलबीच तालमेल गर्ने भनिरहेका बेला कांग्रेस रोल्पाले तालमेलका लागि यस्तो सर्त अघि सारेको हो ।
सभापति आचार्यद्वारा जारी विज्ञप्तिअनुसार कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको छ । यदि उक्त सर्त मान्य भएको एकल प्रतिस्पर्धा गर्ने कांग्रेस रोल्पाले जनाएको छ ।















